शनिबार, ९ श्रावण, २०८३ (1784312100)
शनिबार श्रावण २, २०८३

 सोलुखुम्बुमा ५७ प्रतिशत धान रोपाइँ सम्पन्न, लिखुपिकेमा शतप्रतिशत 

   सोलुखुम्बुः सोलुखुम्बुमा यस बर्षको धान रोपाइ ५७.५५ प्रतिशत सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा वर्षे धान लगाइने कुल १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ७०५ दशमलव ०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो। बाँकी क्षेत्रमा भने रोपाइँ कार्य जारी रहेको केन्द्रले जनाएको छ।
   स्थानीय तहगत विवरणअनुसार लिखुपिके गाउँपालिकामा सबैभन्दा पहिले शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । गाउँपालिकामा धान लगाइने कुल १३५ हेक्टर क्षेत्रफलमध्ये सबै १३५ हेक्टरमै रोपाइँ सकिएको हो।
 यस्तै महाकुलुङ गाउँपालिकामा कुल १५ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १३ हेक्टरमा रोपाइँ सम्पन्न भई ८६.६७ प्रतिशत प्रगति भएको छ। माप्यदूधकोशी गाउँपालिकामा कुल ४५ हेक्टर क्षेत्रफलमध्ये ३६ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ, जुन ८० प्रतिशत हो। सोताङ गाउँपालिकामा कुल १६५ हेक्टर क्षेत्रफलमध्ये १०७.२५ हेक्टरमा रोपाइँ सम्पन्न भई ६५ प्रतिशत प्रगति भएको छ।

  यस्तै नेचासल्यान गाउँपालिकामा कुल ३६० हेक्टरमध्ये २०८.८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ, जसले ५८ प्रतिशत प्रगति देखाएको छ। सोलुदूधकुण्ड नगरपालिकामा रैथाने बालीका रूपमा धान लगाइने कुल ३० हेक्टर क्षेत्रफलमध्ये १५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। नगरपालिकामा हालसम्म ५० प्रतिशत रोपाइँ सकिएको तथ्याङ्कले देखाएको छ।
   थुलुङ दूधकोशी गाउँपालिकामा कुल ४७५ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये १९० हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ। यहाँ हालसम्म ४० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपिएको छ। यता, खुम्बुपासाङल्हामु गाउँपालिकामा भौगोलिक तथा हिमाली अवस्थाका कारण धान खेती नहुने भएकाले त्यहाँ धान रोपाइँको क्षेत्रफल र प्रगति शून्य रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले किसानले सहज रूपमा खेत जोत्न, हिलो बनाउन र रोपाइँ सम्पन्न गर्न सकेकाले  असार मसान्तसम्म ५७.५५ प्रतिशत रोपाइँ सम्पन्न भएकाकृषि ज्ञान केन्द्र, सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारले बताउनुभयो । उहाँका अनुसार मनसुन समयमै सक्रिय हुनु धान रोपाइँको गति बढ्नुको मुख्य कारण हो। ‘गत वर्ष कतिपय स्थानमा वर्षा ढिलो हुँदा रोपाइँ प्रभावित भएको थियो। यस वर्ष भने मौसमले साथ दिएको छ। किसानले समयमै बीउ उमार्न, बेर्ना तयार गर्न र खेतमा रोप्न सकेकाले प्रगति सन्तोषजनक देखिएको हो,’ उहाँले भन्नुभयो ।
  उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहका कृषि शाखासँग नियमित समन्वय गर्दै किसानलाई आवश्यक प्राविधिक सुझाव, रोग तथा कीरा व्यवस्थापनसम्बन्धी परामर्श तथा खेती व्यवस्थापनका विषयमा जानकारी उपलब्ध गराउँदै आएको बताउनुभयो । यसले किसानलाई समयमै निर्णय लिन र रोपाइँ कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुगेको उहाँको भनाइ छ।