सोमबार, १९ असोज, २०८३ (1791051300)
आइतबार असोज १८, २०८३

सोलुखुम्बुमा डिजिटल तथा अनलाइन ठगीका घटनामा वृद्धि, प्रहरीद्वारा सतर्कता अपनाउन अपिल

   सोलुखुम्बु ः आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै सोलुखुम्बु जिल्लामा अनलाइन तथा डिजिटल माध्यमबाट हुने ठगी र बैंकिङ कसुरका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी संजीव कुमार यादवका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मात्रै ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न घटनाहरूमा ठूलो रकम ठगी भएको निवेदन तथा जाहेरी दर्ता भएका छन्।
   उक्त  अवधिमा अनलाइन सपिङ गर्दा पैसा आएन भन्दै स्क्रिन सेयर गर्न लगाई ओटिपी  मागेर ठगी गरिएका १४० वटा निवेदन परेका छन्, जसबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी, बैंकको केवाईसी अपडेट गर्ने बहानामा ३५ वटा निवेदन परेका छन्, जसबाट ५ लाख ५४ हजार रुपैयाँ ठगी भएको छ। पार्सल परेको भन्दै दिइएको जाहेरीका आधारमा २ वटा घटनाबाट १३ लाख ५० हजार रुपैयाँ र फेसबुक आईडी ह्याक गरी साथीभाइसँग रकम माग गरिएका ७ वटा निवेदनबाट ७५ हजार रुपैयाँ ठगी भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यसरी एक बर्षको अवधीमा मात्रै कुल १८४ वटा निवेदन तथा जाहेरी मार्फत २२ लाख ५४ हजार रुपैयाँ ठगी भएको छ।
   आर्थिक वर्ष २०८३÷०८४ को साउन देखि असोज १५ गतेसम्मको तथ्याङ्क हेर्दा, अनलाइन सपिङ गर्दा स्क्रिन सेयर र ओटिपी मार्फत ३४ वटा निवेदनबाट १३ लाख २० हजार रुपैयाँ र फेसबुक ह्याक गरी रकम माग गरिएको १ वटा निवेदनबाट ७८ हजार रुपैयाँ गरी जम्मा ३५ वटा घटनामा १३ लाख ९८ हजार रुपैयाँ ठगी भएको विवरण प्रहरीले जनाएको छ।
   यसैबीच, प्रविधिको दुरुपयोग गरी हुने यस्ता अपराध र बैंकिङ कसुरका घटनाहरू बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भिडियो सन्देश जारी गर्दै सर्वसाधारणलाई विशेष सजगता र सावधानी अपनाउन अपिल गरेको छ। प्रहरीले आजको डिजिटल युगमा सामाजिक सञ्जाल, मोबाइल बैंकिङ तथा डिजिटल कारोबार गर्दा संवेदनशील बन्न आग्रह गरेको छ।
  प्रहरीले आफ्नो ओटिपी, पिन, पासवर्ड, सिभीभी तथा बैंकिङ विवरण कसैलाई पनि सेयर नगर्न, अपरिचित व्यक्तिले पठाएको शंकास्पद लिङ्क, क्यूआर कोड वा एपमा क्लिक नगर्न र आफ्नो गोप्य विवरण प्रविष्ट नगर्न सचेत गराएको छ। साथै, कुनै व्यक्तिले फोन वा भिडियो कल गरी स्क्रिन सेयर गर्न भनेमा कहिल्यै नगर्न समेत आग्रह गरिएको छ।