सोमबार, १९ असोज, २०८३ (1791051300)
आइतबार असोज १८, २०८३

सोलुदुधकुण्ड नगरपालिकाद्वारा नदीजन्य पदार्थ बिक्रीका लागि बोलपत्र आह्वान

    सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका तोकिएका खोलाहरूबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा निकासीका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । 
   स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण गरिएका र घाटगद्दी तोकिएका स्थानहरूबाट कोशी प्रदेश सरकारले निर्धारण गरेको प्रति घनफिट १० रुपैयाँ (भ्याट बाहेक) राजस्व दरका आधारमा बढाबढ प्रक्रियामार्फत बिक्री गर्न नगरपालिकाले  बोलपत्र (टेन्डर) आह्वान गरेको हो  । 
   नगरपालिकाले ६ वटा छुट्टाछुट्टै प्याकेज बनाएर बोलपत्र आह्वान गरेको छ । सालावेशी, सोलुखोला, जुनवेशी खोला (वडा नं. २), दुधकुण्ड खोला (वडा नं. २), सोलुखोला बोल्दोकदेखि थापाटोल (वडा नं. ४ र ५), सोलुखोला छुल्यामु क्षेत्र (वडा नं. ६), जोरबौद्ध तलको सोलुखोला क्षेत्र (वडा नं. ७) र सोलुखोला भदौरे तिङला क्षेत्र (वडा नं. ११) गरी कुल १५ लाख ७५ हजार ६९३ घनफिट नदीजन्य पदार्थ उत्खनन गरिनेछ। 
    यस ठेक्काको न्यूनतम ठेक्का अङ्क भ्याट बाहेक १ करोड ५७ लाख ५६ हजार ९३० रुपैयाँ निर्धारण गरिएको छ। १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) २० लाख ४८ हजार ४०० रुपैयाँ ९० पैसा थप भई कुल ठेक्का अङ्क १ करोड ७८ लाख ५ हजार ३३० रुपैयाँ ९० पैसा पुगेको छ।   बोलपत्रमा सहभागी हुन इच्छुक ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्रीको इजाजतप्राप्त, नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर प्रमाणपत्र र आर्थिक वर्ष २०८२÷०८३ को कर चुक्ता प्रमाणपत्र भएका फर्म वा कम्पनीहरूले एकमुष्ट वा प्याकेज अनुसार छुट्टाछुट्टै आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।