आइतबार, १८ असोज, २०८३ (1790792100)
बिहीबार असोज १५, २०८३

  सुरक्षाको माग गर्दै सोताङको चेपेल आधारभूत विद्यालय बन्द, विद्यार्थीको पढाइ प्रभावित

एआइ निर्मीत फोटो हो 
  सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ स्थित श्री चेपेल आधारभूत विद्यालयमा जङ्क फुड (पत्रु खाना) निषेध गर्ने निर्णयलाई लिएर विवाद उत्पन्न भएपछि विद्यालयको पठनपाठन तथा सम्पूर्ण कामकाज ठप्प भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीय एक व्यक्तिले प्रधानाध्यापक र शिक्षकहरूमाथि अभद्र व्यवहार तथा कुटपिटको प्रयास गरेपछि सुरक्षाको कारण देखाउँदै विद्यालय बन्द गरिएको हो।  
   प्राप्त विवरण अनुसार, सोताङ गाउँपालिकाको शैक्षिक श्वेत पत्रको बुँदा नम्बर १२ लाई आधार मान्दै असोज १४ गते बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले विद्यालय परिसरभित्र जङ्क फुड प्रयोग तथा बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि विद्यालयमा छात्रवास सञ्चालन गर्दै आएका र शिक्षक अभिभावक संघका सदस्यसमेत रहेका स्थानीय पेम्बा शेर्पा आक्रोशित बनेका थिए।  
   बैठक सकिएपछि नजिकैको होटलमा पुगेका विद्यालयका प्रधानाध्यापक बासु राईमाथि शेर्पाले गालीगलौज गर्दै हातपातको प्रयास गरेको आरोप छ। साथै, उनले छात्रवासमा बस्दै आएका १० जना विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई समेत धम्की दिएको र अभद्र व्यवहार गरेको विद्यालय प्रशासनले जनाएको छ।  
   घटनापछि विद्यालयका शिक्षक तथा कर्मचारीहरूको बैठकले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको छ। विद्यालयका सहायक प्रधानाध्यापक झमकबाबु बस्नेतद्वारा जारी विज्ञप्तिमा आरोपी पेम्बा शेर्पालाई सम्बन्धित निकायले उपस्थित गराई कानुनी कारबाही नगरेसम्म र विद्यालयमा भयमुक्त वातावरण सिर्जना नभएसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ।  
   यस घटनाका सम्बन्धमा वडा कार्यालय तथा पावैस्थित इलाका प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको छ। वडा कार्यालयमा आयोजना गरिएको छलफलमा आरोपी शेर्पालाई बोलाइए पनि उनी सम्पर्कमा नआएको र प्रहरी प्रशासनको सहयोगमा विषयलाई तार्किक निष्कर्षमा पु¥याउने प्रयास भइरहेको छ। विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको प्रधानध्यापक वासु राइले बताउनुभयो ।