बिहीबार, २८ श्रावण, २०८३ (1786472100)
बुधबार श्रावण २७, २०८३

सामाजिक सद्भाव र शान्ति कायम गर्न सोलुदुधकुण्ड नगरपालिका न्यायिक समितिको सार्वजनिक अपिल

   सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिका न्यायिक समितिले नगर क्षेत्रभित्र सामाजिक सद्भाव, शान्ति र अमन्चयन कायम राख्न सम्पूर्ण नगरवासीहरूमा विशेष अपिल जारी गरेको छ। चालु आर्थिक वर्षमा नगर क्षेत्रभित्र भएका हत्या तथा आत्महत्या जस्ता दुः खद घटनाहरूले पीडित परिवारमा अपूरणीय क्षति पुग्नुका साथै समाजमा भय, असुरक्षा र आपसी अविश्वासको वातावरण सिर्जना गरेको भन्दै न्यायिक समितिले सबैलाई सजग र संयमित रहन आग्रह गरेको हो।

   न्यायिक समितिले “मतभेद हुन सक्छ, मनभेद नहोस हिंसा होइन, संवाद रोजौँ“ भन्ने मूल नाराका साथ नगरवासीहरूलाई कुनै पनि विवादमा हिंसा र हातपातको बाटो नअपनाउन अनुरोध गरेको छ। विचार, व्यवहार, पारिवारिक विषय वा आर्थिक कारोबारका कारण सिर्जना हुने विवादलाई ठूलो द्वन्द्व बन्न नदिई रिस, आवेग र प्रतिशोध त्यागेर आपसी छलफल, मेलमिलाप तथा कानुनी प्रक्रियामार्फत समाधान खोज्न अपिल गरिएको छ।
   यस्तै, अफवाह र गलत सूचनाको पछि नलाग्न, घरेलु तथा सामाजिक विवाद नलुकाई सम्बन्धित निकायमा जानकारी गराउन र छरछिमेकी तथा समुदायमा आपसी सम्मान कायम राख्न भनिएको छ। विशेष गरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा कमजोर अवस्थाका व्यक्तिहरूको सुरक्षा र सम्मानलाई प्राथमिकता दिन आग्रह गर्दै विवाद समाधानका लागि न्यायिक समिति, वडा कार्यालय, प्रहरी तथा कानुनी निकायको सहयोग लिन अनुरोध गरिएको छ।
    शान्त, सभ्य र सुरक्षित समाज निर्माण गर्नु सरकार वा कुनै एउटा निकायको मात्र नभई हरेक व्यक्ति, परिवार र सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको न्यायिक समितिले स्पष्ट पारेको छ। मिठा शब्द, संयम र संवादले सम्भावित अप्रिय घटनाहरू रोक्न सकिने हुँदा घृणाको सट्टा सद्भाव बढाउन र क्षमा तथा मेलमिलापको बाटो अपनाउँदै सोलुदुधकुण्डको विकास र शान्तिमा सबैलाई हातेमालो गर्न न्यायिक समितिले अपिल गरेको छ।