बिहीबार, २१ श्रावण, २०८३ (1785867300)
बुधबार श्रावण २०, २०८३

 लिखुपिकेमा बन्ने गुम्बाका लागि ३ जनाद्वारा ५ रोपनी जग्गा दान

   सोलुखुम्बु — लिखुपिके गाउँपालिका–३, नाम्खेलीमा निर्माण हुन लागेको नयाँ गुम्बाका लागिस्थानीय दाताहरूले जग्गा दान गरेका छन्। भारतीय राजदूतावासको सहयोग तथा लिखुपिके गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुन लागेको उक्त गुम्बाका लागि ५ रोपनी जग्गा प्राप्त भएको हो।
   गुम्बा निर्माणको अभियानलाई सघाउन लिखुपिके गाउँपालिका–१ निवासी सोनाम पुटी शेर्पाले ३ रोपनी जग्गा दान गर्नुभएको छ। त्यसैगरी स्थानीय ङिमा शेर्पाले १ रोपनी जग्गा खरिद गरी गुम्बाको नाममा हस्तान्तरण गर्नुभएको छ। धार्मिक तथा सामाजिक कार्यमा ऐक्यबद्धता जनाउँदै लिखुपिके गाउँपालिका–३ का वडा अध्यक्ष ध्रुब बहादुर बस्नेतले पनि आफ्नै खर्चमा १ रोपनी जग्गा खरिद गरी गुम्बा निर्माणका लागि प्रदान गर्नुभएको छ।
   जग्गादाताहरूको उदारता, समाजप्रतिको समर्पण र उच्च धार्मिक आस्थाका कारण गुम्बा निर्माण प्रक्रिया थप सहज र द्रुत गतिमा अघि बढ्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ। यो योगदानले स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
   गाउँपालिकाले यस्ता महान् र पुण्य कार्यले आगामी पुस्तालाई पनि समाज, संस्कृति र आफ्ना सम्पदाप्रति जिम्मेवार बन्न प्रेरणा मिल्ने बताएको छ। गुम्बा निर्माणका लागि व्यक्तिगत प्रयासबाट बहुमूल्य जग्गा उपलब्ध गराउने सम्पूर्ण जग्गादाताहरूप्रति गाउँपालिकाका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै उच्च सम्मान प्रकट गरिएको छ।