बजारमा २३ लाख एलपी ग्यास सिलिन्डरको हिसाब छैन: सांसद कार्की
सोलुखुम्बुः नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह कार्कीले बजारमा रहेको एलपी ग्यासको विश्वसनीय तथ्याङ्क सरकारसँग नरहेको आरोप लगाउनुभएको छ। मंगलबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै उहाँले २३ लाख ग्यास सिलिन्डर कहाँ गए भन्नेबारे सरकारसँग कुनै आधिकारिक विवरण नरहेको बताउनुभयो।
नेपाल आयल निगमले बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको दाबी गरे पनि सर्वसाधारण उपभोक्ताहरू अझै पनि ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य भइरहेको प्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो। रिफिल हुनुपर्ने विशाल सङ्ख्याका सिलिन्डरको सही तथ्याङ्क संकलन गरी खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ग्यास आपूर्ति २० प्रतिशतले बढेको दाबी गरिए पनि बजार अनुगमन गर्न नियामक निकाय पूर्ण रूपमा चुकेकाले उपभोक्ताले सास्ती व्यहोर्नुपरेको उहाँको भनाइ थियो।
निगमको वितरण शैलीप्रति कडा असन्तुष्टि जनाउँदै सांसद कार्कीले टेकुबाट मात्र नभई भक्तपुर, कीर्तिपुर, नयाँ बसपार्क लगायतका सम्पूर्ण डिपोहरूबाट ग्यास वितरण गर्ने व्यवस्था तत्काल मिलाउन आग्रह गर्नुभयो। समिति बैठकमा निगमले एक साताभित्र समस्या समाधान गर्ने आश्वासन दिएको १९ दिन बितिसक्दा समेत अवस्था उस्तै रहनु दुःखद भएको उहाँले उल्लेख गर्नुभयो।
नेपालमा पेट्रोलियम क्षेत्र सञ्चालन र नियमनका लागि अहिलेसम्म स्पष्ट कानुन नै नबन्नु झनै गम्भीर विषय भएको उहाँले औँल्याउनुभयो। कानुनी आधार नहुँदा ग्यास क्षेत्रमा हुने बदमासी र अनियमिततामाथि कसैलाई कारबाही गर्न नसकिएको उहाँको ठहर छ। नजिकिँदै गरेका दसैँ र तिहारजस्ता ठूला चाडपर्वलाई ध्यानमा राख्दै उहाँले ग्यास आपूर्तिको समस्या समाधान नगरिए थप ठूलो सङ्कट निम्तन सक्ने चेतावनी दिनुभयो। कुनै पनि किसिमको ’सेटिङ’ मा नपरी उपभोक्ताको हितलाई केन्द्रमा राखेर तत्काल प्रभावकारी बजार अनुगमन गर्न उहाँले सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्नुभयो।
ताजा खबर
सबै- दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित
- संसदीय समितिको कायैशैलीमाथि कांग्रेस सांसद गुरुङको प्रश्न
- ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
- निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
- ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल



2026-08-04-06-45-49.jpeg)


2026-08-04-04-46-15.jpeg)
2026-08-01-11-27-39.jpeg)