मंगलबार, ९ मङ्सिर, २०८३ (1795284900)
आइतबार मङ्सिर ७, २०८३

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले एक महिनामा ४७० चिठीपत्र आयत, निर्यात   

 सोलुखुम्बु : जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले कात्तिक महिनामा सम्पादित कार्यहरूको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा आन्तरिक, बाह्य तथा वैदेशिक गरी कुल ४७० वटा हुलाक वस्तुहरूको दर्ता, आयात, निर्यात तथा वितरण कार्य सम्पन्न भएको छ ।  सार्वजनिक विवरण अनुसार कार्यालयले कात्तिक महिनामा कुल १८ हजार १ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये हुलाक टिकट बिक्रीबाट ११ हजार ७ सय ६० रुपैयाँ र बारकोड सेवाबाट ६ हजार ३ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ । पार्सल सेवाबाट भने राजस्व संकलन शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  कार्यालयका अनुसार कात्तिक महिनामा कुल २७५ वटा हुलाक वस्तु दर्ता भएका छन् भने १९५ वटा वस्तु आयात भएका छन ।  जिल्लाभित्रै आन्तरिक वितरणका लागि ७९ वटा, अन्य जिल्लाका लागि ७४ वटा र विदेशका लागि (विदेशी) १२२ वटा हुलाक वस्तु दर्ता भएका छन्। 

सबैभन्दा बढी रजिस्ट्री चिठीपत्र २०० वटा कारोबार भएका छन्। यस्तै, बुकपोस्ट तथा पोस्टकार्ड १२३ वटा, साधारण चिठी ६८ वटा, समाचारपत्र तथा पत्रिका ६३ वटा, फिर्ता १५ वटा र रजिस्ट्री पुलिन्दा १ वटा कारोबार भएको छ । कात्तिक महिनामा जिल्लामा दर्ता भएकामध्ये ७३ वटा हुलाक वस्तु अन्य जिल्लामा चलान (निर्यात) गरिएको छ भने १२३ वटा वस्तु विदेशका लागि निर्यात गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी, जिल्लामै दर्ता भई जिल्लाभित्रै ७९ वटा, अन्य जिल्लाबाट प्राप्त भई १८५ वटा र विदेशबाट प्राप्त भई १० वटा गरी कुल २७४ वटा हुलाक वस्तुहरू सम्बन्धित व्यक्ति तथा निकायमा वितरण गरिएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ ।