बुधबार, ३ मङ्सिर, २०८३ (1794852900)
मंगलबार मङ्सिर २, २०८३

सोलुखुम्बुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकनको प्रक्रिया सुरु

   सोलुखुम्बु  : सोलुखुम्बुमा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्ने प्रक्रिया सुरु भएको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको हालै बसेको बैठकले जिल्लाभरका मतदान स्थलहरूको पुनरावलोकन गर्नका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको हो। निर्वाचन आयोगको गत कार्तिक १७ गतेको परिपत्र तथा ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ अनुसार बैठकमा विभिन्न चारवटा निर्णयहरू पारित गरिएका छन्। आयोगको कार्यक्रमबारे जानकारी. बैठकमा निर्वाचन आयोगबाट प्राप्त मतदान स्थल तथा केन्द्र पुनरावलोकन कार्यक्रम, २०८३ को कार्यान्वयन योजना र कार्यविधिका बारेमा समितिका पदाधिकारीहरूलाई जानकारी गराइएको छ ।

राजनीतिक दलहरूसँग समन्वय. कार्यविधिको दफा १४ (ग) बमोजिम जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई हाल कायम रहेका मतदान स्थलको सूची पठाइने भएको छ । पुनरावलोकन तथा सिफारिसका लागि आवश्यक सहयोग, सहकार्य र सुझाव उपलब्ध गराउन जिल्ला निर्वाचन कार्यालयमार्फत दलहरूलाई पत्राचार गर्ने निर्णय भएको छ । सबै स्थानीय तह र वडामा पत्राचार. जिल्लाका ८ वटै स्थानीय तह मार्फत सबै वडाहरूमा मतदाता नामावली, मौजुदा मतदान स्थलको सूची र निर्धारण कार्यविधि पठाइने भएको छ । आवश्यक सिफारिसका लागि जिल्ला निर्वाचन कार्यालयमार्फत वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।

आगामी बैठक मङ्सिर २८ गते. प्राप्त सुझाव र सिफारिसहरूमाथि थप छलफल तथा निर्णय गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आगामी बैठक मङ्सिर २८ गते बस्ने तय भएको छ  । बैठकमा प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगर, जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र राज अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मौसम तामाङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोज तिवारी तथा आमन्त्रित सदस्यका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।