सोमबार, ८ मङ्सिर, २०८३ (1795371300)
सोमबार मङ्सिर ८, २०८३

सोलुखुम्बुमा एक युवकको हत्या: संलग्न ४ जना पक्राउ, ५ दिनको म्याद थप

सोलुुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बाबर्खामा एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कर्तव्य ज्यान कसुरमा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको हो।    प्रहरीका अनुसार गत मङ्सिर ५ गते राति अन्दाजी ११ः३० बजेको समयमा माप्य दुधकोशी–४ बाबर्खास्थित कच्ची सडक बाटोमा सोही स्थानका वर्ष ३५ का अम्बर राईमाथि सांघातिक आक्रमण भएको थियो। प्रतिवादीहरूले राईलाई ढुङ्गा र मुक्काले मरणासन्न हुने गरी निर्घात रूपमा कुटपिट गरी हत्या गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मौसम तामाङले जानकारी दिनुभयो । 

हत्यापश्चात् आरोपितहरुले शवलाई घटनास्थलबाट करिब १५० मिटर तल लगी सिरक र डस्ना ओछ्याएर सुताइराखेको अवस्थामा आइतबार बिहान  ९ः०० बजे फेला पारिएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ परिचालित प्रहरी टोलीले मङ्सिर ६ गते नै हत्यामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो। पक्राउ पर्नेहरूमा  माप्य दुधकोशी–४ का ६० वर्षीय  कर बहादुर भन्ने काली बहादुर राई, २३ वर्षीय रविन राई, ३२ वर्षीय अमन राई र २७ वर्षीय कुसल राईलाई पक्राउ  गरिएको छ । चारै जनाविरुद्ध ’कर्तव्य ज्यान’ शीर्षकमा मुद्दा दर्ता गरी सोलुखुम्बु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।