सोमबार, ८ मङ्सिर, २०८३ (1795371300)
सोमबार मङ्सिर ८, २०८३

सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, ११ वर्षमा ५ वटा दुर्घटना 

सोलुखुम्बु :  विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ । उद्धार, पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन, पर्वतारोहण तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन हुने गरेका छन् । तर पर्यटकीय गतिविधिसँगै बढेको हवाई चहलपहलले सुरक्षा जोखिमसमेत बढाएको छ ।
    पछिल्लो एक दशकमा सोलुखुम्बुका विभिन्न क्षेत्रमा भएका हेलिकप्टर दुर्घटनाका घटना हेर्दा यो जोखिम सामान्य नभएको जानकारहरुको चिन्ता छ । दुर्घटनामा मानवीय क्षति, चालकको मृत्यु, यात्रु घाइते हुनेदेखि हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त हुनेसम्मका घटना भएका छन् । कतिपय घटनामा प्राविधिक समस्या, कतिपयमा प्रतिकूल मौसम, अवतरण स्थलको अवस्था र मानवीय तथा व्यवस्थापकीय कमजोरी देखिएका छन् ।
    पछिल्लो पटक गत कात्तिक १७ गते जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भयो भने तीन जना घाइते भए । फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको थियो भने न्युजिल्यान्डका एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए ।
    बिहान करिब ८ बजेर १२ मिनेटमा भएको उक्त घटनाले सोलुखुम्बुको हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । फेरेचे क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रत्यक्ष सञ्चार पहुँच बाहिर पर्ने भएकाले त्यहाँ उडान तथा अवतरणका क्रममा चालकहरूबीच आपसी समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण आधिकारिक अनुसन्धानबाट मात्र पुष्टि हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले बताउनुभयो । सोलुखुम्बुको आकाशमा हेलिकप्टर सञ्चालनको बढ्दो चाप, नियमनको प्रभावकारिता, कम्पनीहरूको व्यावसायिक प्रतिस्पर्धा र यात्रुको सुरक्षाबीचको सन्तुलनबारे पुनर्विचार गर्नुपर्ने अवस्थाको सङ्केत पनि हो ।
    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अभिलेखअनुसार २०७३ देखि २०८३ को हालसम्म सोलुखुम्बुमा भएका पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटनाले सुरक्षा चुनौती उजागर गरेका छन् । २०७३ असोज ९ गते जिल्लाको जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए । अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षतिग्रस्त भएको भए पनि हेलिकप्टरमा सवार छ जना नै सकुशल रहेका थिए । 
    त्यस्तै २०७९ असार २६ मा मनाङ एयरको हेलिकप्टर लामजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भयो । ९एन–एएमभी कलसाइनको हेलिकप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिक सवार थिए । दुर्घटनामा सबै छ जनाको मृत्यु भयो । प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई सम्भावित कारणका रूपमा औँल्याइएको थियो । २०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । ९एन–एएनजे कलसाइनको हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्र सवार थिए । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । गम्भीर घाइते चालकलाई उद्दार गरी काठमाडौँ हुँदै थप उपचारका लागि भारत लगिए पनि उपचारकै क्रममा उहाँको मृत्यु भयो । 
    यसैगरी २०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । लुक्लाबाट पर्यटक लिन गएको हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो । हेलिकप्टरका चालक सकुशल रहेका थिए तर हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो । २०८३ कात्तिक १७ गते फेरुचेमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा आकाशमै ठोक्किए । दुर्घटनामा भारतीय पर्यटकको मृत्यु भयो भने एक अन्य यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भए । यो घटनाले एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरणको प्राथमिकतासम्बन्धी व्यवस्थामाथि प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाई छ ।