बुधबार, ३ मङ्सिर, २०८३ (1794852900)
मंगलबार मङ्सिर २, २०८३

सोलुखुम्बुमा एक युवकमाथि फलामको पाइप प्रहार, एक जना नियन्त्रणमा 

सोलुखुम्बु  : सोेलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइपले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ नाकचुङस्थित निर्माणाधीन लुजा खोला जलविद्युत् आयोजनामा कार्यरत मजदुर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–१६ का २३ वर्षीय छविलाल कुमाललाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङले दिनुभएको जानकारी अनुसार गत कात्तिक २५ गते साँझ करिब ५ बजे मादक पदार्थ सेवन गरेका कुमालले सोही आयोजनामा कार्यरत ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–७ का २८ वर्षीय सुरेश भनिने सेरबहादुर बस्नेतको टाउकोमा फलामको पाइपले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।     घटनामा संलग्न कुमाललाई कात्तिक २७ गते नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीमाथि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले मङ्सिर १ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।