मंगलबार, ९ मङ्सिर, २०८३ (1795284900)
आइतबार मङ्सिर ७, २०८३

थुलुङ दुधकोशीका तीन वडामा ग्रामीण विद्युतीकरण व्यवस्थित गर्न ५ करोडको योजना 

थुलुङ दुधकोशी गाउँपालिकाका तीन वटा वडामा ग्रामीण विद्युतीकरणलाई व्यवस्थित र दीर्घकालीन बनाउन करिब ५ करोड रुपैयाँको लागतमा विद्युत् पोल तथा तार व्यवस्थापन गरिने भएको छ । गाउँपालिकाका वडा नम्बर १ नेले, वडा नम्बर २ काँगेल र वडा नम्बर ३ पञ्चनमा विद्युत् सेवा थप व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणमार्फत आवश्यक सर्वेक्षण सुरु गरिएको गाउँपालिकाले जनाएको छ

    यसअघि ती वडामा स्थानीय लघुजलविद्युत् आयोजनाबाट विस्तार गरिएको विद्युत् लाइनमा राष्ट्रिय प्रसारण लाइन जोडेर विद्युत् सेवा सञ्चालन हुँदै आएको थियो । तर, उक्त प्रणालीमा विभिन्न प्राविधिक समस्या देखिँदै आएकाले दीर्घकालीन समाधानका लागि पोल तथा तार व्यवस्थापनको योजना अघि बढाइएको गाउँपालिकाको भनाइ छ । करिब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्ने तयारी गरिएको छ । सोहीअनुसार हाल घरधुरी तथा बस्ती नछुट्ने गरी सर्वेक्षण कार्य भइरहेको छ । सर्वेक्षणलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका निर्वाचित जनप्रतिनिधिहरू परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।