मंगलबार, ९ मङ्सिर, २०८३ (1795284900)
आइतबार मङ्सिर ७, २०८३

सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता सख्या पुग्यो, सबैभन्दा बढि सोलुुदुधकुण्डमा    

सोलुखुम्बु :  सोलुखुम्बुमा ८५ हजार ५७७ मतदाता सख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार जिल्लामा महिला मतदाताभन्दा पुरुष मतदाताको सङ्ख्या बढी रहेको छ । गत असोज ३० गतेसम्म प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा ४४ हजार ५८७ पुरुष र ४० हजार ९९० महिला मतदाता रहेका छन् । जिल्लामा सबैभन्दा बढी मतदाता सोलुदुधकुण्ड नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता लिखुपिके गाउँपालिकामा रहेका छन्। सोलुदुधकुण्ड नगरपालिकामा पुरुष १० हजार ५ सय ४१ र महिला १० हजार ५२ गरी जम्मा २० हजार ५ सय ९३ मतदाता रहेका छन्। यहाँ २९ वटा मतदान स्थल तोकिएका छन्।
यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा पुरुष ८ हजार ४ सय ७४ र महिला ७ हजार ६ सय ८७ गरी जम्मा १६ हजार १ सय ६१ मतदाता रहेका छन्। यहाँ २३ वटा मतदान स्थल रहेका छन्। माप्य दुधकोशी गाउँपालिकामा पुरुष ५ हजार ७ सय ६८ र महिला ५ हजार १ सय ६९ गरी जम्मा १० हजार ९ सय ३७ मतदाता रहेका छन्। यहाँ १५ वटा मतदान स्थल छन्। नेचासल्यान गाउँपालिकामा  पुरुष ५ हजार ६ सय ४ र महिला ५ हजार २ सय ९९ गरी जम्मा १० हजार ९ सय ३३ मतदाता रहेका छन्। यहाँ १५ वटा मतदान स्थल तोकिएका छन्। महाकुलुङ गाउँपालिकामा पुरुष ४ हजार ४ सय ६० र महिला ३ हजार ८ सय ५४ गरी जम्मा ८ हजार ३ सय १४ मतदाता रहेका छन्। यहाँ ११ वटा मतदान स्थल छन्। सोताङ गाउँपालिकामा  पुरुष ३ हजार ८ सय ७० र महिला ३ हजार ३ सय ९१ गरी जम्मा ७ हजार २ सय ६१ मतदाता रहेका छन्। यहाँ १२ वटा मतदान स्थल रहेका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिकामा पुरुष ३ हजार ५६ र महिला ३ हजार ४६ गरी जम्मा ६ हजार १ सय २ मतदाता रहेका छन्। यहाँ ११ वटा मतदान स्थल तोकिएका छन्। लिखुपिके गाउँपालिकामा  पुरुष २ हजार ८ सय १४ र महिला २ हजार ४ सय ८४ गरी जम्मा ५ हजार २ सय ९८ मतदाता रहेका छन्। यहाँ जिल्लामै सबैभन्दा कम अर्थात् ७ वटा मतदान स्थल रहेका छन्। सार्वजनिक गरिएको यस तथ्याङ्कमा सम्पूर्ण ८ वटै स्थानीय तहमा ’अन्य’ विधाका मतदाताको संख्या शून्य रहेको छ । यो विवरण सार्वजनिक भएसँगै जिल्लामा आगामी निर्वाचनका लागि राजनीतिक दल र निर्वाचन कार्यालयलाई तयारी एवं व्यवस्थापन गर्न सहज हुने देखिएको छ । निर्वाचन प्रयोजनका लागि २०८३ साल भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समेटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच, निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार सोलुखुम्बुमा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइएको छ । हाल कार्यालयबाट मतदाता नामावली दर्ता तथा विवरण सच्याउनेलगायतका सेवा प्रवाह भइरहेको छ ।