सोमबार, ३ कार्तिक, २०८३ (1792174500)
शनिबार कार्तिक १, २०८३

 सोलुखुम्बुमा चाडपर्वलाई लक्षित गरी ३ सय भन्दा बढी प्रहरी परिचालन 

   सोलुखुम्बुः  दशैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी सोलुखुम्बु जिल्लामा ३ सय ३९ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चाडपर्वको समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको धेरै आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न  विशेष योजनाका साथ प्रहरी परिचालन गरिएको छ । चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न ठाउँमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो।
    उहाँका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये केही प्रहरीहरु सादा पोशाकमा छन् । उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पु¥याउनेछन् । चाडपर्वका समयमा सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सार्वजनिकस्थल, बसपार्क, र चाडपर्व लक्षित बजारमा विशेष निगरानी बढाइएको छ ।
   यसैबीच चाडपर्वको समयमा यात्रुहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्लाका तीन प्रमुख स्थानमा ’यात्रु सहायता कक्ष’ स्थापना गरिसकिएको छ। यात्राका क्रममा तोकिएको भन्दा बढी भाडा लिने, गन्तव्यमा नपु¥याई बीच बाटोमै छाड्ने तथा यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता समस्या रोकथामका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
   जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख सरोज कुमार यादवका अनुसार सोलुखुम्बुको हुलाक मोड, जोरबौद्ध र पत्ताले गरी तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्राका क्रममा कुनै पनि समस्या परेमा यात्रुहरूले सहायता कक्ष वा नजिकैको प्रहरी टोलीलाई तत्काल खबर गर्न सक्नेछन्।