आइतबार, ११ असोज, २०८३ (1790273700)
शुक्रबार असोज ९, २०८३

काँग्रेस सोलुखुम्बुको क्षेत्रीय अधिवेशन असोज १३ गते

   सोलुखुम्बुः    प्रतिकूल मौसमका कारण नेपाली काँग्रेस सोलुखुम्बुको १५औँ महाधिवेशनअन्तर्गत असोज १० गतेका लागि तय गरिएका निर्वाचन कार्यक्रम स्थगित भएका छन्। नेपाली काँग्रेस कार्यसम्पादन समिति सोलुखुम्बुको असोज ८ गते बसेको आकस्मिक बैठकले निर्वाचन कार्यक्रम केही दिनका लागि स्थगित गर्ने निर्णय गरेको हो।
   नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म मौसम खराब हुने सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि प्रतिकूल मौसमलाई मध्यनजर गर्दै निर्वाचन स्थगित गरिएको काँग्रेस सोलुखुम्बुले जनाएको छ।
   जिल्लाका वडा तथा पालिकास्तरीय अधिवेशन सम्पन्न भइसकेको अवस्थामा असोज १० गते प्रदेशसभा कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने कार्यतालिका तय गरिएको थियो। अब नयाँ कार्यतालिकाअनुसार असोज १२ गते बिहान ८ बजेदेखि निर्वाचनसम्बन्धी कार्यक्रम पुनः सञ्चालन हुनेछ भने असोज १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ।
  काँग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई तोकिएको समयमा उपस्थित भई निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरिएको छ।