आइतबार, ११ असोज, २०८३ (1790273700)
शुक्रबार असोज ९, २०८३

नेपाली कांग्रेस १५औँ महाधिवेशन, सोलुखुम्बुका सबै वडा र पालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन

   सोलुखुम्बुः  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुमा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका सबै ५२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।
   सोलुखुम्बुको आठै स्थानीय तहमा सर्वसम्मत नेतृत्वसहित कार्यसमिति चयन गरिएको नेपाली कांग्रेसकाका पार्टी सचिव युवराज घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा छोङ्बा लामा, माप्य दुधकोशी गाउँपालिकाको सभापतिमा राम मगर, खुम्बु पासाङल्हामु गाउँपालिका सभापतिमा फुनुरु शेर्पा र लिखुपिके गाउँपालिका सभापतिमा रेखराज बस्नेत सर्वसम्मत चयन हुनुभएको छ।
   त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिका सभापतिमा भक्त गुरुङ, सोताङ गाउँपालिकामा जंग गुरुङ र महाकुलुङ गाउँपालिकामा बलकुमार राई र नेचासल्यान गाउँपालिकामा सम्भु कार्की   सर्वसम्मत सभापतिमा चयन हुनुभएको घिमिरेले जानकारी दिनुभयो।
   उहाँका अनुसार अब कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश तथा केन्द्रीय तहका अधिवेशन तोकिएको मिति र कार्यतालिकाअनुसार सम्पन्न हुनेछन्।
   कांग्रेस सोलुखुम्बुले १५औँ महाधिवेशनका सबै चरणलाई सहमति र एकताका साथ सम्पन्न गर्ने निर्णय गर्दै वडा, पालिका हुँदै प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसम्मको तयारी अघि बढाएको जनाएको थियो । सोही अनुरुप १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुका ५२ वटै वडामा अधिवेशन सम्पन्न भई वडा सभापतिसहितको नेतृत्व सर्वसहमत चयन भइसकेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ