आइतबार, ११ असोज, २०८३ (1790360100)
शनिबार असोज १०, २०८३

साल्मे पहिरोको संयुक्त अनुगमन, यातायात सञ्चालनमा 

    सोलुखुम्बुः    सोलुखुम्बुमा निरन्तरको वर्षाका कारण अवरुद्ध भएको साल्मे सडक आजदेखि सञ्चालनमा आएको छ। सोलुखोला पुल नजिकै नदी कटानका कारण सडक क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध भएको सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएसँगै यातायात सञ्चालनमा आएको हो।
   सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्की र सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुङ्गाको टोलीले साल्मे पहिरो तथा आसपासको सडक क्षेत्रको संयुक्त अनुगमन गरेको थियो।
   पहिरोका कारण सदरमुकाम जोड्ने मुख्य सडक प्रभावित भएपछि यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको थियो। सडक अवरुद्ध रहेकै अवस्थामा थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन हुँदै तिङ्ला जोड्ने वैकल्पिक मार्गसमेत सञ्चालनमा ल्याइएको थियो। 
   प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले सडक सञ्चालनमा आएपछि यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताउनुभएको छ। साथै, पहिरो प्रभावित क्षेत्रमा दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणको पहल गरिने उहाँले बताउनुभएको छ ।
   सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख सबिन जोशीले ह्विल लोडर, एक्स्काभेटर र रक ब्रेकर प्रयोग गरी पहिरो प्रभावित क्षेत्रमा सडक खुलाउने काम गरेको बताउनुभयो । माथिबाट पहिरो खस्नुका साथै तलतर्फ नदी कटान भइरहेकाले सडकको ठूलो भाग जोखिममा परेको थियो।
   सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख सबिन जोशीले पहिरोको प्रकृति जटिल रहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन आवश्यक काम गरिएको बताउनुभएको छ अहिले सडक सञ्चालनमा आए पनि प्रभावित क्षेत्रमा दीर्घकालीन व्यवस्थापनको आवश्यकता रहेको जनाइएको छ।