शुक्रबार, ९ असोज, २०८३ (1790187300)
बिहीबार असोज ८, २०८३

  कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन सात पालिकामा सम्पन्न, नेचासल्यानमा सहमति प्रयास जारी

    सोलुखुम्बुः नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन अन्तर्गत जिल्लाका आठ स्थानीय तहमध्ये सात  वटा पालिकामा नेतृत्व चयन भएको छ । सम्पन्न भएका सबै पालिकामा नेतृत्व सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेले जानकारी दिनुभयो । 
   नयाँ नेतृत्व चयनअनुसार सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा छोङबा लामा शेर्पा, सोताङ गाउँपालिकाको सभापतिमा जङ्क गुरुङ, खुम्बु पासाङल्हामु गाउँपालिकाको सभापतिमा फुनुरु शेर्पा, थुलुङ दुधकोशी गाउँपालिकाको सभापतिमा भक्तबहादुर गुरुङ र माप्य दुधकोशी गाउँपालिकाको सभापतिमा रामप्रसाद मगर चयन हुनुभएको छ। त्यसैगरी महाकुलुङ गाउँपालिकामा बलकुमार राई र लिखुपिके गाउँपालिकामा रेखराज बस्नेत सर्वसम्मत रूपमा सभापति चयन हुनुभएको छ।
   सचिव युवराज घिमिरेका अनुसार जिल्लाको नेचासल्यान गाउँपालिकामा भने नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास जारी छ। नेचासल्यानमा सहमति हुन नसकेको खण्डमा भने निर्वाचन प्रक्रियामार्फत सभापतिको टुङ्गो लगाइनेछ।
   देशभरका बहुसंख्यक वडाहरूमा वडा अधिवेशन सम्पन्न भइसकेको र सोही संगठनात्मक आधारमा पालिका अधिवेशनहरू अघि बढाइएको छ। कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच जना पदाधिकारी तथा कार्यसमिति सदस्यहरू चयन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित सभापतिले कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ। कांग्रेसले आगामी १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन तय गरी तल्लो तहका अधिवेशनहरू तीव्र रूपमा अगाडि बढाएको छ।