अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त
सोलुखुम्बुः — अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त बनेको छ । पछिल्ला तीन दिनमा परेको अविरल वर्षाका कारण सोलुखुम्बु जिल्लाका विभिन्न भागमा पहिरो ठूलो क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले दिएको पछिल्लो विवरण अनुसार पहिरोका कारण विद्यालय, सवारी ग्यारेज र सामुदायिक भवनमा क्षति पुग्नुका साथै धेरैजसो यातायातका मार्गहरू अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकीले जानकारी दिनुभयो ।
वर्षापछि आएको पहिरोले सोलु दुधकुण्ड नगरपालिका वडा नं. ८, आङ्पाङस्थित महेन्द्र ज्योति आधारभूत विद्यालयमा ठूलो भौतिक क्षति पु¥याएको छ। विद्यालय माथिबाट खसेको पहिरोले भवनका दुई वटा कोठा पूर्ण रूपमा पुरेको छ भने कोठाभित्र रहेका १४ वटा कम्प्युटर, दराज, टेबल र अन्य शैक्षिक सामाग्रीहरू पूर्ण रूपमा नष्ट भएका छन्।
यसैगरी दलित जागरण सेवा समाजको एउटा भवन पनि पहिरोका कारण पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। पहिरोका कारण जिल्लाका धेरै घरधुरीहरू उच्च जोखिममा परेका छन्। हालसम्मको विवरण अनुसार १२ वटा घर र १ वटा ग्यारेज गरी कुल १३ वटा संरचना पहिरोको उच्च जोखिममा रहेका छन्।
सोलु दुधकुण्ड नगरपालिका वडा नं. २, जुनबेशीका चुङ्बा छिरिङ लामाको घर माथिबाट पहिरो खसेकाले जोखिम बढेको छ, तर हाललाई स्थानान्तरण भने गर्नुपरेको छैन। यस्तै, महाकुलुङ गाउँपालिका वडा नं. १ बुङ बजारदेखि साब्दी जाने कच्ची सडकमाथिबाट खसेको पहिरोले स्थानीय बलजित राईको घर जोखिममा पारेपछि उनको परिवारका ३ जना (१ महिला र २ पुरुष) लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्लाभरि पहिरोको जोखिममा परेका कुल ३९ जना (१९ महिला र २० पुरुष) लाई सुरक्षित स्थानमा सारिएको छ।
वर्षा र पहिरोले जिल्लाका मुख्य तथा सहायक ग्रामीण सडक खण्डहरूमा यातायात सेवा प्रभावित बनाएको छ। सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, फलामखानि नजिक र सल्लेरी आउने बाटोका विभिन्न ३÷४ ठाउँमा पहिरो गई बाटो अवरुद्ध भएकोमा प्रहरी र स्थानीयको पहलमा हाल बाटो खुलाइसकिएको छ।
यसैगरी, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १, पैयास्थित ङिम दोर्जे सडकखण्डको २० मिटर माथिबाट पहिरो र ठूला ढुङ्गाहरू खस्दा खरिखोलाबाट सुर्केतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। उक्त अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका तथा वडा कार्यालयसँग आवश्यक समन्वय गरी कार्य अगाडि बढाइएको छ। यता महाकुलुङको छेक्मामा अवरुद्ध बनेको भित्री कच्ची सडक भने पालिकाको जेसिबी प्रयोग गरेर खुलाइसकिएको छ।
मौसम प्रतिकूल रहेकाले थप क्षति हुन नदिन र जोखिममा परेकाहरूलाई उद्धार गर्न जिल्लाका विभिन्न प्रहरी चौकी र इलाका प्रहरी कार्यालयहरू उच्च सतर्कताका साथ परिचालन गरिएका छन्।
ताजा खबर
सबै- अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त
- थुलुङ दुधकोशी गाउँपालिका–४ का वडा सदस्य फुर्तीमान राईको निधन
- साल्मे पहिरोको संयुक्त अनुगमन, यातायात सञ्चालनमा
- साल्मे पहिरोको संयुक्त अनुगमन, भोलिसम्म यातायात सञ्चालन गर्ने तयारी
- अविरल वर्षाले साल्मेमा सडक भासियो, सोलुखुम्बुको यातायात प्रभावित



2026-09-20-07-38-31.jpeg)


