साल्मे पहिरोको संयुक्त अनुगमन, भोलिसम्म यातायात सञ्चालन गर्ने तयारी
सोलुखुम्बुः सोलुखुम्बुमा निरन्तरको वर्षाका कारण साल्मे सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्की र सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुङ्गाको टोलीले साल्मे पहिरो तथा आसपासको सडक क्षेत्रको संयुक्त अनुगमन गरेको छ ।
सोलुखोला पुल नजिकै नदी कटानका कारण सडक क्षेत्रमा पहिरो खसेर सडक जोखिमपूर्ण बनेपछि प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरसहितको टोलीले स्थलगत निरीक्षण गरेको हो। पहिरोका कारण सदरमुकाम जोड्ने मुख्य सडक प्रभावित हुँदा यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
स्थलगत निरीक्षणपछि प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले अविरल वर्षाका कारण सोलुखुम्बुको मुख्य ‘लाइफलाइन’ मानिने सडक अवरुद्ध हुँदा नागरिकले ठूलो समस्या भोग्नुपरेको बताउनुभयो।
हाल थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन हुँदै तिङ्ला जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको कार्कीले जानकारी दिनुभयो। आगामी चाडपर्व नजिकिँदै गएकाले यात्रुहरूको आवतजावतलाई सहज बनाउन साल्मे सडकलाई पनि भोलि बिहानसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो।
सडकको तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन व्यवस्थापनका लागि पनि पहल भइरहेको कार्कीको भनाइ छ । यस विषयमा पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको र विज्ञहरूको टोली ल्याएर सडकको स्थायी समाधान खोजिने उहाँले बताउनुभयो। पहिरो प्रभावित क्षेत्रमा फ्लाइओभर निर्माण वा अन्य उपयुक्त वैकल्पिक मार्गको सम्भाव्यताबारे प्राविधिक अध्ययन गरिने उहाँको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले सदरमुकाम जोड्ने मुख्य सडक अवरुद्ध भएपछि नागरिकलाई परेको असुविधाप्रति जिल्ला प्रशासन कार्यालय गम्भीर रहेको बताउनुभयो। सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय गरी पहिरो पन्छाउने काम तीव्र पारिएको भन्दै थापामगरले भोलि बिहानसम्म सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनाउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो।
यता सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख सबिन जोशीका अनुसार साल्मे क्षेत्रमा माथिबाट पहिरो खस्नुका साथै तलतर्फ नदीले निरन्तर कटान गरेपछि सडकको ठूलो भाग भासिएको छ। पहिरोको प्रकृति ‘डीप–सिटेड ल्यान्डस्लाइड’ जस्तो देखिएकाले सामान्य पहिरो पन्छाएर मात्र समस्या समाधान गर्न कठिन रहेको उहाँले बताउनुभयो।
ठूलो आकारमा सडक विस्तार गर्दा थप पहिरो खस्ने जोखिम रहेकाले तत्कालका लागि ह्विल लोडर, एक्स्काभेटर र रक ब्रेकर प्रयोग गरेर पहाडको भित्ता काट्ने काम भइरहेको जोशीले जानकारी दिनुभयो। यसरी सडक तयार गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ।
ताजा खबर
सबै- अविरल वर्षाले सोलुखुम्बुमा १३ घर, १ विद्यालय र सडक क्षतिग्रस्त
- थुलुङ दुधकोशी गाउँपालिका–४ का वडा सदस्य फुर्तीमान राईको निधन
- साल्मे पहिरोको संयुक्त अनुगमन, यातायात सञ्चालनमा
- साल्मे पहिरोको संयुक्त अनुगमन, भोलिसम्म यातायात सञ्चालन गर्ने तयारी
- अविरल वर्षाले साल्मेमा सडक भासियो, सोलुखुम्बुको यातायात प्रभावित



2026-09-20-07-38-31.jpeg)


