आइतबार, ११ असोज, २०८३ (1790273700)
शुक्रबार असोज ९, २०८३

सोताङ–थुलुङ दूधकोशी जोड्ने बेलिब्रिजमा हेभी सवारी सञ्चालनमा रोक

    सोलुखुम्बुः सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका–८ जोड्ने बेलिब्रिजमा हेभी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण पुलका पिलर आसपास पहिरो गएपछि पुलमा थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सोताङ गाउँपालिकाले मालवाहक ट्रकसहित हेभी सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएको हो।
   सोताङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलका अनुसार   निरन्तरको वर्षाले पुलमा थप क्षति भई सम्भावित दुर्घटना र मानवीय जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि हेभी सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो 
   गाउँपालिकाले पुलको संरक्षण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक संरक्षणात्मक कार्य अघि बढाउने जनाएको छ। साथै, निषेध गरिएको समयमा मालवाहक ट्रक वा अन्य हेभी सवारी साधन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम जरिवानासहित कडा कारबाही गरिने चेतावनी दिइएको छ। सम्भावित दुर्घटना तथा थप क्षति रोक्न गाउँपालिकाले चालक, व्यवसायी तथा स्थानीयवासीलाई प्रतिबन्धको पूर्ण पालना गर्न आग्रह गरेको छ।