सोमबार, १५ भदौ, २०८३ (1788113700)
सोमबार भदौ १५, २०८३

सोलुखुम्बुमा पशुपन्छी पालन र उत्पादन उत्साहजनकः दूधमा भैँसी र मासुमा बङ्गुर अगाडि

   सोलुखुम्बु – सोलुखुम्बु जिल्लामा आर्थिक वर्ष २०८२÷८३ मा पशुपन्छीको सङ्ख्याका साथै दूध तथा मासु उत्पादनको स्थिति निकै उत्साहजनक देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीका अनुसार जिल्लामा पशुपन्छी पालनतर्फ किसानहरूको आकर्षण बढ्दै जाँदा उत्पादनमा समेत सकारात्मक सुधार आएको हो।
   कार्यालयका सूचना अधिकारी राम विनोद पडितले दिएको विवरण अनुसार जिल्लामा दूध उत्पादनतर्फ भैँसी पालनको योगदान सबैभन्दा प्रमुख रहेको छ। जिल्लाभर रहेका २१,०९० वटा भैँसीबाट वार्षिक ३३,२१४ मेट्रिक टन दूध र ८७३ मेट्रिक टन मासु उत्पादन भएको छ। त्यसैगरी ३९,४१५ वटा गाईवस्तुबाट वार्षिक १०,९०३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ भने हिमाली क्षेत्रको मुख्य पहिचानका रूपमा रहेका ११,१५० वटा याक तथा चौँरीबाट वार्षिक २२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ।
   मासु उत्पादनतर्फ भने जिल्लामा बङ्गुर र बाख्रा पालनको भूमिका अग्रणी देखिएको छ। विवरण अनुसार २४,७५० वटा बङ्गुरबाट वार्षिक ६०१ मेट्रिक टन मासु उत्पादन भएको छ भने ७२,०६५ वटा बाख्राबाट वार्षिक ३७५ मेट्रिक टन मासु प्राप्त हुने गरेको छ। यसका साथै ३,१२० वटा भेँडाबाट १० मेट्रिक टन मासुका अलावा ५,४९३ किलोग्राम ऊन तथा अन्य ऊनी सामग्रीहरू उत्पादन भइरहेका छन्।
   पन्छी पालनतर्फ पनि जिल्लामा राम्रो प्रगति देखिएको छ। हाल जिल्लाभर १,२०,४३६ वटा कुखुराबाट वार्षिक ३४९ मेट्रिक टन र १,१०२ वटा हाँसबाट १.२३ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ। सामूहिक रूपमा हेर्दा सोलुखुम्बुमा दूध उत्पादनमा भैँसी र मासु उत्पादनमा बङ्गुर तथा बाख्रा व्यवसाय स्थानीय किसानको आम्दानीको मुख्य आधार बन्दै गएका छन्। हिमाली भेगमा चौँरी र भेँडा पालनले परम्परागत पेसा जोगाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पु¥याइरहेको छ।