सोमबार, १५ भदौ, २०८३ (1788027300)
आइतबार भदौ १४, २०८३

नेचासल्यान गाउँपालिकाद्वारा काठमाडौँमा दुई दिने एकीकृत सेवा प्रवाह शिविर सुरु

     सोलुखुम्बुः  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले विभिन्न सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी दुई दिने एकीकृत सेवा प्रवाह शिविर सुरु भएको छ  । काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको यो शिविरको मुख्य उद्देश्य बर्खाको समयमा गाउँसम्म जान कठिन हुने नागरिकहरूलाई उनीहरूकै पायक पर्ने स्थानमा सहज रूपमा पालिकाबाट प्राप्त हुने सेवाहरू उपलब्ध गराउनु रहेको गाउँपालिकाले जनाएको छ । 
   शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर सङ्कलनका साथै जन्म, मृत्यु, विवाह, व्यवसाय, बसाइँसराइ र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना पञ्जीकरणसम्बन्धी सेवाहरू प्रदान भइरहेका छन्। यसका अतिरिक्त वि।सं। २०८० भन्दा अगाडि बनेका राष्ट्रिय परिचयपत्र वितरण, ज्येष्ठ नागरिक परिचयपत्र र वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसहरू पनि उपलब्ध गराइएको छ। 
   साथै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूका लागि सरकारले दिने मासिक ५,००० रुपैयाँ औषधि उपचार खर्चको नवीकरणसमेत यही शिविरमार्फत भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो। 
  उद्धाटन कार्याक्रममा बोल्दै  प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले गाउँपालिकाको यो कदमको उच्च प्रशंसा गर्दै यसलाई अत्यन्तै सराहनीय र नागरिकमैत्री प्रयास बताउनुभएको छ। बर्खाको समयमा बाटोघाटो अस्तव्यस्त र यात्रा जोखिमपूर्ण हुने बेलामा जनप्रतिनिधि र कर्मचारीको टोली आफैँ काठमाडौँ पुगेर सेवा दिनु ठूलो राहतको विषय भएको उहाँको भनाइ छ। सांसद कार्कीका अनुसार गाउँपालिकाले शिविर सञ्चालन गर्दा करिब चार–पाँच लाख रुपैयाँ मात्र खर्च गरे तापनि यसले नागरिकहरूको बढी यात्रा तथा अन्य खर्च बचत गराएको छ।
   नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले काठमाडौँमा व्यापार, व्यवसाय वा अध्ययनका लागि बसेका नागरिकहरूलाई बर्खामा गाउँ पुग्न कठिन हुने भएकाले उनीहरूकै सुविधाका लागि कार्यपालिका बैठकबाट निर्णय गरेर यो शिविर आयोजना गरिएको बताउनुभयो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि घरदैलोमै पुगेर सेवा दिने निर्णय सही साबित भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण पालिकावासीलाई दुई दिनको यो अवसरको पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो।
   त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष बिना राईले भदौ १ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार जनप्रतिनिधि र कर्मचारी गरी करिब २५ जनाको टोली काठमाडौँ आएर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो। बाढीपहिरोले बाटो अवरुद्ध भएको यस्तो विषम परिस्थितिमा नागरिकहरूलाई प्रशासनिक झन्झटमुक्त सेवा दिन पालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले बिहानदेखि बेलुकासम्म खटिएर सेवा दिने विश्वास दिलाउनुभएको छ।