सोमबार, १५ भदौ, २०८३ (1787940900)
शनिबार भदौ १३, २०८३

दुधकुण्ड मेलामा पुगेका ३ सय बढिको स्वास्थ्य परिक्षण

सोलुखुम्बु :   जनैपुर्णिको अवसरमा नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु जिल्ला शाखाको आयोजनामा सञ्चालित शिविरमा ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । जनैपूर्णिमाको अवसरमो सोलुदूधकुण्ड नगरपालिका–१ मा पर्ने दूधकुण्डमा लागेको मेलालाई लक्षित गरी निःशुल्क प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।  शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये २६४ जनालाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले जनाएको छ ।
रेडक्रसका अनुसार सहस्रबेनीमा सञ्चालन गरिएको शिविरमा ७८ जना, दूधकुण्डमा १६५ जना र शिविर सम्पन्न भएपछि मेलाबाट फर्किएका २१ जनालाई औषधि वितरण गरिएको हो । शिविर सञ्चालनका लागि चार जना स्वास्थ्यकर्मी र ११ जना रेडक्रस स्वयंसेवकसहित १५ जनाको टोली परिचालन गरिएको थियो । उच्च हिमाली क्षेत्रमा लाग्ने धार्मिक मेलाका क्रममा तीर्थयात्री तथा भक्तजनलाई आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्राथमिक उपचारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
करिब चार हजार ६०० मिटरको उचाइमा रहेको दूधकुण्डमा जनैपूर्णिमाको अवसरमा हरेक वर्ष धार्मिक मेला लाग्ने गर्दछ । मेलामा सोलुखुम्बुसहित विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् । स्वास्थ्य शिविर सञ्चालनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा टाक्सिन्दु सेर्वि छोक्पा, न्युयोर्कले सहयोग गरेका थिए ।