सोमबार, १५ भदौ, २०८३ (1787940900)
शनिबार भदौ १३, २०८३

   गार्मा माध्यमिक विद्यालयलाई १ करोड १५ लाखको अक्षयकोष रकम हस्तान्तरण

   सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा स्थित गार्मा माध्यमिक विद्यालयलाई १ करोड १५ लाख रुपैयाँको अक्षयकोष रकम आधिकारिक रूपमा हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि सञ्चालन गरिएको अक्षयकोष संकलन अभियानअन्तर्गत हालसम्म कुल १ करोड १७ लाख ४६ हजार २ सय ४७ रुपैयाँ रकम संकलन भएको थियो। सोही संकलित रकममध्ये १ करोड १५ लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो।

   उहाँका अनुसार अक्षयकोष स्थापना अभियानमा स्वदेश तथा विदेशमा रहेका कुल १४४ जना दाताहरूले आर्थिक योगदान पु¥याएका छन्। दक्षिण कोरिया, अमेरिका तथा काठमाडौँ लगायतका विभिन्न स्थानमा रहेका कारण धेरैजसो दाताहरू कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन सकेनन्। कार्यक्रममा उपस्थित भएका करीब ८० देखि १०० जना दाताहरूलाई औपचारिक रूपमा धन्यवाद ज्ञापन गर्दै सम्मान गरिएको सोलुदुधकुण्ड वडा अध्यक्ष शेर्पाले बताउनुभयो । बाँकी रहेका सोलुखुम्बुका स्थानीय दाताहरूलाई भने आगामी अर्को कार्यक्रम आयोजना गरी विशेष सम्मान गरिने उहाँले बताउनुभयो।
   हस्तान्तरण गरिएको उक्त १ करोड १५ लाख रुपैयाँको अक्षयकोषबाट आउने वार्षिक ब्याज रकमलाई विद्यालयको अति आवश्यक तथा महत्वपूर्ण कार्यहरूमा खर्च गरिनेछ। ब्याज रकमको सही सदुपयोग र पारदर्शी व्यवस्थापनका लागि एक विशेष समिति गठन गरिएको छ। उक्त समितिले गर्ने निर्णयका आधारमा विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार वा अन्य प्राथमिकताका क्षेत्रमा कोषको ब्याज रकम परिचालन गरिने जनाइएको छ। दाताहरूको ठूलो सहयोगमा स्थापना भएको यो विशाल अक्षयकोषले गार्मा माध्यमिक विद्यालयको आगामी शैक्षिक यात्रा र दीर्घकालीन विकासमा ऐतिहासिक र महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।