शनिबार, १३ भदौ, २०८३ (1787854500)
शुक्रबार भदौ १२, २०८३

  सोलुखुम्बुको दुधकुण्डमा जनैपूर्णिमा मेला, दर्शनार्थीको बाक्लो उपस्थिति

   सोलुखुम्बु— जनैपूर्णिमाको पावन अवसरमा सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल ठुलो दुधकुण्ड र फाप्लुस्थित सेतीदेवी (सानो दुधकुण्ड) मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने सुन्दर नुम्बुर हिमालको काखमा, समुद्री सतहदेखि ४,६०० मिटरको उचाइमा रहेको ठूलो दुधकुण्ड र यातायातको सहजताका कारण नजिकैको सानो दुधकुण्डमा आज विशेष मेला लागिरहेको छ।
   वैदिक सनातन धर्मावलम्बीहरूले बिहानैदेखि नदी, ताल र पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) धारण गरिरहेका छन्। हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र रहेको यस क्षेत्रमा धामीझाँक्रीसहित सोलुखुम्बु, ओखलढुंगा लगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरू आउने क्रम जारी छ। ठूलो दुधकुण्डसम्मको पैदल यात्रा गर्न नसक्ने भक्तजनहरूले फाप्लुस्थित सानो दुधकुण्डमै पुगेर पूजाअर्चना गरिरहेका छन्। सल्लेरीबाट ३० कोस उत्तरमा अवस्थित ठूलो दुधकुण्डको पानी सेतो देखिने भएकाले यसलाई दुधकुण्ड भनिएको हो।
   जनैपूर्णिमाका दिन दुधकुण्डमा स्नान गर्नाले पुण्य प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। पोखरीको एक छेउमा शिवलिंग र अर्को छेउमा बौद्ध धर्मावलम्बीहरूले श्रद्धाका साथ पुज्ने बुद्धको मूर्ति रहेको छ। पोखरीको वल्लो छेउबाट करिब दुई घण्टा ओरालो झरेपछि विशाल ढुंगाको फेदमा रहेको ’आयु माग्ने स्थान’ मा पूजा गर्दा आयु बढ्ने र गाईवस्तु सप्रिने धार्मिक मान्यता छ। यस मुख्य पोखरीको आसपासमा गंगा–जमुना र भूतपोखरीसहित १० वटा साना–ठूला तालहरू रहेका छन्।
   मेलामा आउने दर्शनार्थीलाई पर्न सक्ने ’हाइअल्टिच्युड’ (लेक लाग्ने) समस्यालाई ध्यानमा राख्दै प्रहरी र रेडक्रस सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। स्थानीय सरकारले यस क्षेत्रको पूर्वाधार विकासका लागि शौचालय निर्माण गरिसकेको छ भने पोखरी नजिकैसम्म सडक विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, दुधकुण्डको धार्मिक तथा पर्यटकीय महिमा बढाउन वृत्तचित्र निर्माण गरी प्रचारप्रसारलाई तीव्रता दिइएको छ।