शनिबार, १३ भदौ, २०८३ (1787768100)
बिहीबार भदौ ११, २०८३

सोलुखुम्बुका २५ नागरिक सम्पर्कविहीनः खोजी जारी, धैर्य रहन प्रमुख जिल्ला अधिकारीको अपिल

     सोलुखुम्बुः   भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रोजगारी, व्यापार तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका सोलुखुम्बु जिल्लाका २५ जना नागरिक सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कमानसिंह थापामगरका अनुसार विभिन्न स्रोत तथा स्थानीय तहबाट आएका सूचनाहरूलाई क्रस–भेरिफाई गर्दा अहिलेसम्म २५ जनाको सूची तयार भएको छ। यद्यपि, यो संख्या पूर्ण रूपमा पुष्टि (भेरिफाई) भइनसकेकाले घटबढ हुन सक्ने सम्भावना रहेको छ।
    जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पीडित परिवार, स्थानीय सर्वसाधारण, पालिकाका जनप्रतिनिधिहरू सञ्चारकर्मी तथा जिल्ला प्रहरी कार्यालयबाट आएका सूचनाका आधारमा तथ्यांक संकलन गरिरहेको छ। हराइरहेका व्यक्तिहरूको पछिल्लो लोकेशन ट्रयाक गर्नका लागि परिवारसँग उनीहरूको मोबाइल नम्बरसमेत माग गरी विवरण संकलन गरिएको छ।
   प्राप्त विवरण अनुसार सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, माप्य दुधकोशी, सोताङ, महाकुलुङ र लिखुपिके गाउँपालिकाका नागरिकहरू बाढीमा परी सम्पर्कविहीन भएका छन्। प्रजिअ थापामगरले थुलुङ, महाकुलुङ, सोलुदुधकुण्ड र माप्यका जनप्रतिनिधिहरूसँग समन्वय भइसकेको र अन्य पालिकासँग पनि सम्पर्क बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो। 
  खोजी तथा उद्धारका लागि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा रसुवाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ। हराएका नागरिकहरूको सम्पूर्ण विवरण लिखित रूपम मा पठाइसकिएको छ।
   बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले सिधा सम्पर्कमा केही कठिनाइ भए पनि अहिलेको पहिलो प्राथमिकता पहिचान खोज्नुभन्दा उद्धार र उपचार गर्नु रहेको प्रजिअ थापामगरले बताउनुभयो। यो राष्ट्रिय विपत्तिको समय भएकाले धैर्य धारण गर्न र हराइरहेका नागरिकहरूको सकुशल उद्धार हुने आशा राख्न प्रशासनले पीडित परिवारहरूलाई अनुरोध गरेको छ।