जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ सेवा र एम्बुलेन्स सञ्चालनको तयारी
सोलुखुम्बूःजिल्ला अस्पताल फाप्लुमा चालु आर्थिक वर्षभित्र विभिन्न नयाँ तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू थप गरी सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार मण्डलका अनुसार, दुर्गम हिमाली क्षेत्रका नागरिकहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नयाँ योजनाहरू अगाडि बढाइएको हो।
प्रदेश सरकारको योजना अनुसार अस्पतालमा मानसिक स्वास्थ्य सेवा अनिवार्य रूपमा समावेश गरिएको छ, जसअन्तर्गत महिनाको एक पटक मानसिक रोग विशेषज्ञ (साइकियाट्रिक) परामर्श सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन भइसकेको र कार्यविधि तय गरी छिट्टै सेवा सुचारु गर्ने योजना रहेको छ ।
यस सेवाका लागि सरकारी वा निजी अस्पतालसँग समन्वय गरी मानसिक रोग विशेषज्ञ डाक्टर ल्याइने डा. मण्डलले बताउनुभयो। साथै, सोलुखुम्बूमा मुटुरोगीहरूको सङ्ख्या पनि उल्लेख्य रहेकाले महिनाको एक पटक मुटुरोग विशेषज्ञ मार्फत सेवा दिने अस्पतालको लक्ष्य रहेको छ। स्थानीय सञ्चारमाध्यमहरू मार्फत सूचना प्रवाह गरी दुर्गम गाउँका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने वातावरण बनाइनेछ।
अस्पतालमा एम्बुलेन्स सेवा विस्तारका लागि प्रदेश सरकारले बजेट पठाइसकेको र खरिद प्रक्रिया अगाडि बढिसकेको छ। सोलुखुम्बूको भौगोलिक बनावट र दुर्गम सडकलाई ध्यानमा राख्दै गाउँ–गाउँबाट बिरामी ल्याउन र अन्यत्र प्रेषित गर्न उपयुक्त हुने खालको ‘ख’ वर्गको एम्बुलेन्स आउँदो दशैँ अगावै खरिद गरी सञ्चालनमा ल्याइने जानकारी डा. मण्डलले दिनुभयो।
अस्पतालमा प्रसूतिका अलावा अन्य जटिल शल्यक्रियाहरू पनि नियमित रूपमा भइरहेका छन्। हाल अस्पतालमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ट्रमा रिपेयर, जनरल सर्जरीअन्तर्गत हाइड्रोसिल, हर्निया र पाइल्सको शल्यक्रिया तथा दन्त शल्यचिकित्सक मार्फत ओरो–म्याक्सिलोफिसियल र अनुहारको चोटपटक सम्बन्धी शल्यक्रियाहरू सफलताका साथ सञ्चालन भइरहेका छन्।
हाल अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर कार्यरत रहेकामा आगामी दिनमा नवौँ तहका थप विशेषज्ञ डाक्टरहरू (स्त्रीरोग तथा हाडजोर्नी विशेषज्ञ) पठाउने प्रक्रिया सुरु भइसकेको छ। छात्रवृत्तिमा अध्ययनरत डाक्टरहरू र थप जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग निरन्तर पहल भइरहेको डा. मण्डलले बताउनुभयो।
ताजा खबर
सबै- दुधकुण्ड मेलामा ६१ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा, लेक लागेका २ जनाको आकस्मिक उद्धार
- भोटेकोशी बाढीमा सोलुखुम्बुका ३७ जना बेपत्ता, ४ जना सम्पर्कमा
- सोलुखुम्बुमा वन्यजन्तुको आक्रमणबाट प्रभावित पीडितहरूलाई ४ लाख बढी राहत वितरण, केहीको भुक्तानी बाँकी
- सोलुखुम्बुमा भदौ चौध गते सात घण्टा विद्युत आपूर्ति बन्द हुने
- जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ सेवा र एम्बुलेन्स सञ्चालनको तयारी



2026-08-25-08-10-10.jpeg)



