सोमबार, ८ भदौ, २०८३ (1787422500)
आइतबार भदौ ७, २०८३

 नेपाल लेखापढी व्यवसायी सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न

   सोलुखुम्बुः नेपाल लेखापढी व्यवसायी जिल्ला समिति सोलुखुम्बुको प्रथम साधारण सभा सम्पन्न भएको छ। जिल्ला समितिका अध्यक्ष आङ ङिमा शेर्पाको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा अधिवक्ता कुञ्जाङ शेर्पा प्रमुख अतिथि रहनुभएको थियो। 
   उक्त कार्यक्रमलाई  सम्बोधन गर्दै प्रमुख अतिथि कुञ्जाङ शेर्पाले लेखापढी व्यवसायीहरूले नियमावलीको परिधिभित्र रहेर न्यायिक तथा अर्ध–न्यायिक निकायहरूमा सर्वसाधारणको सहज पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका अर्का अतिथि भू–सेवा संयोजक वीर उदास श्रेष्ठले सम्पूर्ण व्यवसायीहरूलाई एकजुट भएर आफ्नो हकहित र व्यावसायिक हितको संरक्षणमा लाग्न शुभकामना व्यक्त गर्नुभयो।
     उपाध्यक्ष निर कुमारी राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने साधारण सभामा कोषाध्यक्ष रत्नबहादुर बस्नेतले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सभाले वर्तमान कार्यसमितिलाई अनुमोदन गर्दै ९ सदस्यीय पूर्ण समिति गठन गरेको छ। जसअन्तर्गत रिक्त रहेको सहसचिव पदमा सबिना राउतलाई चयन गरिएको छ भने बाँकी पदहरू यथावत राखिएका छन्। यसैगरी, व्यवसायीहरूको हकहित र संस्थागत मार्गदर्शनका लागि सल्लाहकार प्रमुखमा अधिवक्ता कुञ्जाङ शेर्पा र सल्लाहकारमा शम्भु प्रसाद घिमिरेलाई मनोनयन गरिएको छ। कार्यक्रमको दौरान दिवंगत हुनुभएका सदस्यहरू रामकाजी राज भण्डारी, निमराज तामाङ, यज्ञश्रुर काफ्ले, तोविन्द्र राई, बिजार सिंह राई र गजराज राईको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो।