शनिबार, १३ भदौ, २०८३ (1787940900)
शनिबार भदौ १३, २०८३

  सोलुखुम्बुमा भदौ चौध गते सात घण्टा विद्युत आपूर्ति बन्द हुने

  सोलुखुम्बुः  फाप्लु फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । कम्पनीको वितरण प्रणाली अन्तर्गत विद्युत उत्पादन गृहदेखि सुर्केसम्मको एघार केभी फिडरलाई छुन लागेका रुख तथा रुखका हाँगाबिँगा कटान गर्नुपर्ने र फाप्लु नयाँ बस्तीमा लोड ब्रेक स्विच जडान गर्नुपर्ने भएकाले विद्युत सेवा प्रभावित हुने भएको  हो ।  
   सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार भदौ चौध गते बिहान १०ः०० बजेदेखि बेलुकी ०५ः०० बजेसम्म लाइन बन्द रहनेछ। उक्त समयमा सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर एक, दुई, तीन, चार र पाँचमा पूर्ण रूपमा तथा वडा नम्बर छ का दोर्पू, नयाँ बजार र थातिङ लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ। तोकिएका क्षेत्र बाहेक अन्य स्थानमा भने विद्युत सेवा नियमित रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
    तोकिएको समयभन्दा अगावै मर्मत तथा कटानको काम सम्पन्न भएको खण्डमा विद्युत आपूर्ति सोही अनुसार चाँडै पुनर्बहाली गरिनेछ। साथै, यो तालिका मौसम अनुकूल भएमा मात्र लागु हुने र मौसम प्रतिकूल भएमा उक्त कार्य सोही दिनका लागि स्थगित गरिने जानकारी सूचना अधिकारी विकाश मान राईले दिनुभएको छ ।