नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
सोलुखुम्बुः सोलुखुम्बुका निमा नुरु शेर्पा र उहाँको टोलीले विगत दुई दशकदेखि नर्वेका कठिन पहाडी क्षेत्रहरूमा ढुङ्गे सिँढी निर्माण गर्दै आएका छन्। हरेक वर्ष करिब ६ हजार किलोमिटरको यात्रा तय गरी नर्वे पुग्ने यो नेपाली शेर्पा टोलीले हालसम्म त्यहाँ दुई सयभन्दा बढी साना–ठूला ढुङ्गे सिँढीहरू निर्माण गरिसकेको छ।
स्थानीय रूपमा ’शेर्पा टापा’ तथा ’शेर्पा सिँढी’ नामले चिनिने यी संरचनाहरू १० देखि ४ हजारसम्मका खुड्किलाहरूमा फैलिएका छन्। यस कार्यले कठिन पहाडी क्षेत्रमा पदयात्रालाई सहज र सुरक्षित बनाउनुका साथै नर्वेको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको छ। यस परियोजनाको सुरुआत करिब २० वर्षअघि स्टिबियुगयारेन एएसका प्रबन्ध निर्देशक गिर बेटीले आफ्नै कृषि फार्म जाने बाटो बनाउने क्रममा गर्नुभएको थियो। पहाडमा आधुनिक मेसिन लैजान असम्भव भएपछि उहाँले सगरमाथा आरोहणमा संलग्न कुशल नेपाली शेर्पाहरूको सहयोग लिने विचार गर्नुभएको थियो। सोही क्रममा निमा नुरुका बुवा पहिलोपटक नर्वे पुगेर काम सुरु गर्नुभएको हो। पछि किशोरावस्थामै बुवासँग नर्वे पुग्नुभएका निमा नुरुले हाल आफ्नै टोलीको नेतृत्व गर्दै यो परम्परालाई निरन्तरता दिइरहनुभएको छ।
नर्वेका भिराला र प्रायः पानी परिरहने पहाडमा गैँती, गल, छिनो र हथौडाको प्रयोग गरी एक हजार किलोसम्मका गह्रौँ ढुङ्गाहरू मिलाएर सिँढी बनाउनु निकै चुनौतीपूर्ण मानिन्छ। असम्भव जस्तै देखिने यी ढुङ्गाहरू ओसारपसार गर्न हेलिकप्टरको समेत प्रयोग गरिन्छ। प्राकृतिक बनोटसँग मेल खाने गरी बनाइएका यी खुड्किलाहरूमा शेर्पाहरूले आफ्नो सांस्कृतिक पहिचानस्वरूप मन्त्र लेखिएका रङ्गीचङ्गी ध्वजापताकाहरू समेत टाँग्ने गरेका छन्, जसले सो क्षेत्रको सुन्दरता थप बढाएको छ।
पश्चिमी नर्वेको प्रसिद्ध लङफस झरना नजिकैको सिँढी होस् या ओत्रोया द्वीपमा रहेको ३ हजार २९२ खुड्किलासहितको विश्वकै लामोमध्येको ’मिडसुन्ड सिँढी’, यी सबै नेपाली शेर्पाकै मेहनतका उपज हुन्। नर्डमोरे, रोम्सडालेन तथा आन्डाल्सनेसको नेसाक्सलाजस्ता चर्चित पर्यटकीय स्थलहरूमा निर्माण गरिएका सिँढीहरू अहिले पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन्। बेलायती पर्यटक जेनका अनुसार यी सिँढीहरूले उकालो यात्रालाई अत्यन्तै सहज र सुरक्षित बनाएका छन् भने स्थानीय व्यवसायी निना काल्टवासरले शेर्पा सिँढीका कारण पर्यटकको संख्या बढेर आफ्नो रेष्टुरेन्ट व्यवसायसमेत फस्टाएको बताउनुभएको छ।
गिर बेटीका अनुसार शेर्पाहरू विश्वकै बलिया, ढुङ्गाको काममा सिपालु र उच्च मनोबल भएका व्यक्ति हुन्। यस परियोजनाको हिस्सा बन्न पाउँदा आफूहरूलाई असाध्यै खुसी लागेको र यसले नयाँ पुस्तालाई मद्दत पुग्ने निमा नुरु शेर्पाले बताउनुभयो। नेपालमा हुने कमाइको तुलनामा नर्वेमा करिब २० गुणा बढी आम्दानी हुने भएकाले यसले शेर्पा समुदाय र उहाँहरूको परिवारको जीवनस्तर उकास्न ठूलो सहयोग पु¥याएको उहाँले बताउनुभयो। यो काम आफ्नो परिवारका लागि मात्र नभई सम्पूर्ण शेर्पा समुदाय र देशकै लागि गौरवको विषय भएको उहाँको भनाइ छ। नेपाली हिमाली क्षेत्रमा पुस्तौँदेखि विकसित भएको यो परम्परागत सीपले आज नर्वेको प्राकृतिक संरक्षण र पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।
ताजा खबर
सबै- महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
- नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
- मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
- क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
- शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)

