छात्रमाथि कुटपिट घटनाः विद्यालय र शिक्षकद्वारा गल्ती स्वीकार, आपसी सहमतिमा विवाद साम्य
सोलुखुम्बुः जिल्लाको महाकुलुङ गाउँपालिका–२ स्थित श्री पेल्माङ आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत एक छात्रमाथि शिक्षकबाट भएको कुटपिटको घटनालाई विद्यालय प्रशासन, पीडित पक्ष र स्थानीय सरोकारवाला निकायबीचको औपचारिक छलफलपछि आपसी सहमतिमा सुल्झाइएको छ।
विद्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गत साउन २५ गते सोमबार नियमित पठनपाठन तथा शिक्षण सिकाइका क्रममा दोहोरो कुराकानी हुँदा शिक्षकद्वारा कारबाही गर्दा ती छात्रको जिउ शरीरमा निलडाम देखिएको थियो। घटनाबारे जानकारी पाउनासाथ विद्यालय समय सकिएपछि विद्यालय प्रशासन छात्रको घरमै पुगेर अवस्था बुझेको थियो। घरमा रहनुभएकी आमा र वैदेशिक रोजगारमा रहनुभएका बुबासँग छलफल गर्दै घटनामा संलग्न शिक्षक एवं विद्यालयको तर्फबाट भएको कमीकमजोरी र गल्ती स्वीकार गरी माफी मागिएको थियो। अभिभावक र विद्यार्थीले पहिलो पटकका लागि माफी दिएपछि अनौपचारिक सहमति भई छात्रा नियमित रूपमा विद्यालय आउन थालेका थिए ।
तर, घटना भएको करिब २४ घण्टापछि साउन २६ गते मङ्गलबार राति ९ बजे जीवन जीवन नामको फेसबुक आईडीबाट उक्त घटनालाई सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो। साउन २७ गते बुधबार बिहान ८ः३० बजेतिर पोष्टबारे थाहा पाएपछि विद्यालयले पोष्टकर्तालाई सम्पर्क गरी परिवारसँग छलफल भई माफीसमेत मागिसकिएको जानकारी गराएको थियो। त्यस क्रममा पोष्टकर्ताले आफू हाल इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको र बेलुका पहुँचमा पुगेपछि पोष्ट हटाउने बताएका थिए।
तथापि पोष्ट नहटाइएपछि साउन २८ गते बिहीबार विद्यालयले पुनः फोनमार्फत छात्रका परिवारसँग कुराकानी गरेको थियो। छलफलमा परिवारका तर्फबाट “मानव हो, कसैबाट कहिलेकाहीँ गल्ती हुन सक्छ, त्यसलाई माफी दिनुपर्छ तर गल्ती दोहोरिनु हुँदैन“ भन्दै पोष्ट हटाइदिन आग्रह गरिएको प्रतिक्रिया प्राप्त भएको थियो। त्यसको केही समयमै पोष्टकर्ताले पुनः उक्त पोष्ट रिपोष्ट गरिएको र विभिन्न फेसबुक पेजहरूबाट उत्तेजित बनाउने प्रयास गरि घटनालाई उत्तेजित बनाउने प्रयास गरेकोमा विद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सामाजिक सञ्जालमा भइरहेको क्रियाप्रतिक्रिया, सरोकारवालाहरूको चासो र घटनाको यथार्थ वस्तुस्थिति स्पष्ट पार्न साउन २९ गते विद्यालयमा बृहत् औपचारिक छलफल आयोजना गरियो। विद्यालय प्रशासन, सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, पीडित विद्यार्थी, परिवारका सदस्य तथा महाकुलुङ गाउँपालिका शिक्षा शाखा प्रमुखको उपस्थितिमा भएको उक्त बैठकमा समीक्षा गरिएको थियो। छलफलका क्रममा विद्यालय तथा सम्बन्धित शिक्षकको तर्फबाट भएको गल्ती पुनः महसुस गरी स्वीकार गर्दै माफी मागिएको र परिवारका तर्फबाट पनि माफी दिने सहमति भएकाले विवाद पूर्ण रूपमा साम्य भएको छ।
घटनाका सम्बन्धमा सम्पूर्ण सरोकारवाला निकाय, अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई स्पष्ट जानकारी दिनका लागि साउन २९ गते विद्यालयका प्रधानाध्यापक परम ध्वज राई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष चम्पा विर वि.क. र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओसन राईको संयुक्त हस्ताक्षरमा आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको छ।

ताजा खबर
सबै- काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त
- छात्रमाथि कुटपिट घटनाः विद्यालय र शिक्षकद्वारा गल्ती स्वीकार, आपसी सहमतिमा विवाद साम्य
- खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा काठमाडौँमा चार दिने एकीकृत सेवा शिविर सञ्चालन हुने
- निम्सदाइको बेलायतको डोर्सेटमा अन्त्येष्टि गरिने
- ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति पर्यटनमन्त्री पौडेलद्वारा श्रद्धाञ्जली अर्पण
2026-08-12-10-52-46.jpeg)
2026-08-11-05-01-17.jpeg)

2026-08-08-08-16-35.jpeg)

