शुक्रबार, ५ भदौ, २०८३ (1787163300)
बिहीबार भदौ ४, २०८३

 शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य

   सोलुखुम्बुः  शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुलेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ नासागाराबाट निर्माण सुरु भएको सडकको ट्रयाक यही साउन १६ गते लुक्ला बसपार्कसम्म पुगेको हो। २०८३ असार ४ गते शिलान्यास गरिएको यस आयोजनालाई पालिकाले पहिलो प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाएको गाउँपालिका अध्यक्ष मिङमाछिरि शेर्पाले जानकारी दिनुभयो। सडक सञ्जाल जोडिएसँगै स्थानीयको दैनिक आवतजावत र उपभोग्य सामग्रीको ढुवानी सहज हुनुका साथै पर्यटक आगमनलाई बाह्रै महिना निरन्तरता दिन मद्दत पुग्ने विश्वास लिइएको छ।
    निर्माण पक्षका अनुसार आगामी दशैँ (अक्टोबर) सम्ममा लुक्लासम्म जिप तथा बोलेरो पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको छ। हाल प्रारम्भिक ट्रयाक मात्र खोलिएकाले सडकलाई सुरक्षित र पूर्ण रूपमा सञ्चालन योग्य बनाउन ब्याक कटिङ, रिटेनिङ वाल निर्माण, ढुङ्गाको ग्राभेल र स्तरोन्नतिका कामहरू बाँकी नै छन्। विशेषगरी चट्टानी भूभागमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले केही स्थानमा निर्माण गति सुस्त भए पनि माटो बढी भएको खण्डमा काम सहज रूपमा अघि बढेको थियो।
   भ्याट तथा छुटसहित करिब २ करोड ४४ लाख ८९ हजार ७९४ रुपैयाँको कुल लागतमा निर्माण भइरहेको यस सडकसँगै लुक्लामा व्यवस्थित बसपार्क निर्माणको योजना समेत अघि बढाइएको छ। जसका लागि पालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बसपार्क लुक्ला विमानस्थलभन्दा तल्लो क्षेत्रमा निर्माण गरिने गाउँपालिकाले जनाएको छ।