सोलुखुम्बुको जुवुमा पाखुरी साट्दै किसान, रोपाईंसँगै गुञ्जन्छन् पर्मेली भाका
सोलुखुम्बुः सोलुखुम्बुको जुवुमा चल्दै आएको अर्मपर्म अर्थात श्रम साटासाट गर्ने मौलिक परम्परा अझै पनि कायमै रहेको छ । खेतीपाती गर्न श्रमिक नपाउने समस्या विकराल बन्दै गइरहेको समयमा यहाँका स्थानीयले भने आपसी भाइचारा र श्रम संस्कृतिको रूपमा अर्मपर्मलाई निरन्तरता दिइरहेका हुन् ।
गीत गाएको देखाउने सुरुमा सोलुखुम्बुको जुवुमा पाखापखेरामा गुञ्जने यस्ता मौलिक पर्मेली गीत वर्षायामको खेतीपाती सिजनमा सुनिने गर्छ । प्रविधिको तीव्र विकास, बसाइसराइ, रोजगारी, आधुनिक जीवनशैली जस्ता कारण देशका अधिकांश ग्रामीण भू–भागमा परम्परागत अर्मपर्म घट्दै गए पनि सोलुखुम्बुको बस्ती जुवुमा भने यो पर्मेली परम्पराको मौलिक संस्कृति अझै पनि उत्तिकै जीवन्त रहेको हो ।
पर्मेली परम्परालाई अहिले पनि यहाँका स्थानीय किसानले निरन्तरता दिइरहेका छन् । गाउँमा २५ देखि ३० जनासम्मको सानो–ठूलो हुल तथा समूह बनाएर आलोपालो एकअर्काको मेलो खन्ने र रोप्ने काम नै पर्मेली परम्परा हो । पैसामा ज्याला मजदुरी गर्नु भन्दा आफ्नै छरछिमेक, नातागोता र साथीभाइ मिलेर पाखुरी साट्दै एक–अर्काको खेतीपाती सकाउने यो परिपाटीले कृषि कार्यलाई निकै सहज र रमाइलो बनाएको किसानहरु बताउँछन् ।
असारको हिलो मेलो होस् वा साउने कोदो रोप्ने चटारो, जुवुका चेलीबेटी र माइतीहरू एकाबिहानै उत्साहका साथ मेलोमा जुट्ने गर्छन् । समूहको नियम अनुसार पुरुष माइतीहरूले बारी खनिसकेपछि चेलीबेटीहरूले साँझसम्म पर्मको रोपाईं सम्हाल्छन् । काम गर्दाको थकान मेट्नका लागि पर्मेली भाकाका गीत गाउने, हाँसीमजाक गर्ने र नाच्ने गरिन्छ । जसले कामको बोझ घटाउने मात्र नभई छरछिमेक र आफन्तबीचको आत्मीयतालाई अझ कसिलो बनाएको देखिएको हो ।
यहाँको अर्मपर्म केवल खेतबारीमा पाखुरी साट्ने माध्यम मात्र नभई माइती र चेलीबेटीबीचको साँस्कृतिक सम्बन्ध र सम्मान दर्शाउने एउटा पवित्र पर्व जस्तै बनेको हो । कुनै परिवारमा बिरामी तथा दुःखद् घटना परेर काम रोकिएमा सिङ्गो हुल नै गएर निःशुल्क सहयोग गर्ने र मेलो सकिदिने नियम समेत पर्मेली हुलले अपनाउँदै आएका छन् । जुवुबासीको यो मौलिक श्रम साटासाट गर्ने पर्मेली परम्पराले आधुनिक समाजका लागि समेत सामाजिक एकता र सहकार्यको लोभ लाग्दो सन्देश दिएको देखिएको छ ।
ताजा खबर
सबै- महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
- नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
- मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
- क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
- शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)

