सोमबार, १ भदौ, २०८३ (1786904100)
सोमबार भदौ १, २०८३

काठमाडौँमा महाकुलुङ गाउँपालिकाको तीन दिने एकीकृत प्रशासनिक शिविर सम्पन्न, ८३९ जना लाभान्वित

    सोलुखुम्बुः जिल्लाको  महाकुलुङ गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरेको तीन दिने एकीकृत प्रशासनिक शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरबाट कुल ८३९ जनाले सेवा लिएका हुन् । 
   गाउँपालिकाको पाँचवटै वडा कार्यालयहरू तथा पालिका स्तरबाट प्रवाह हुने विविध प्रकारका प्रशासनिक सेवाहरूलाई एकै स्थानबाट एकीकृत रूपमा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा सेवाग्राहीको उल्लेखनीय उपस्थिति रहेको थियो, जस अन्तर्गत वडा नम्बर १ बाट १२४ जना, वडा नम्बर २ बाट १४७ जना, वडा नम्बर ३ बाट १५१ जना, वडा नम्बर ४ बाट ८४ जना र वडा नम्बर ५ बाट ९३ जनाले सेवा प्राप्त गरेका छन्। यसैगरी, पालिका अन्तर्गतका एकीकृत सेवातर्फ २४० जना नागरिक लाभान्वित भएका महाकुलुङ गाउँपालिकाका  प्रशासकीय अधिकृत सुमन राईले जानकारी दिनुभएको छ।
  शिविरमा विभिन्न शीर्षक अन्तर्गत नागरिकहरूलाई सेवा वितरण गरिएको थियो। जस अनुसार पञ्जीकरण सेवा १२२ जना, सामाजिक सुरक्षा दर्ता तथा नवीकरण सेवा १२६ जना, मालपोत सम्बन्धी सेवा २३३ जना, नागरिकता प्रमाणपत्र सिफारिसको प्रतिलिपि २० जना, नाता प्रमाणित ३६ जना र अविवाहित प्रमाणित सेवा २ जनाले लिएका छन्।
   यसैगरी, राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा १११ जनाले प्राप्त गरेका छन् भने स्वास्थ्य सेवा तर्फ रगत समूह परीक्षण ८६ जना, सुगर परीक्षण ३३ जना, स्वास्थ्य बीमा दर्ता तथा नवीकरण ५ जना र औषधि उपचारका लागि निवेदन ५ जनाले दर्ता गराएका छन्। यसबाहेक अन्य विविध प्रकारका सिफारिसहरू ६० जनालाई प्रदान गरिएको प्रशासकीय अधिकृत राईले बताउनुभयो ।  काठमाडौँमै गाउँपालिका र वडास्तरको सेवा पाउँदा स्थानीय नागरिकहरूले खुसी व्यक्त गर्दै प्रशासनिक कामका लागि गाउँसम्म पुग्नुपर्ने सास्ती हटेको बताएका छन्।