सोमबार, १ भदौ, २०८३ (1786904100)
सोमबार भदौ १, २०८३

‘रोड टु एभरेस्ट’ को फस्र्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

    सोलुखुम्बुः सगरमाथाको साहस, रहस्य, आरोहणको जोखिम र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्र्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
   निर्माण पक्षका अनुसार वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
    वृत्तचित्रले सगरमाथाको भव्यतासँगै आरोहणको जोखिम, शेर्पा समुदायको योगदान, मानव साहस तथा जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई समेत समेटेको छ । सगरमाथालाई केवल हिमालका रूपमा नभई साहस र अठोटको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।

   निर्मल श्रेष्ठको निर्देशनमा निर्माण भएको वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन् । फुर्वाले १८ पटक र निमाले विश्वका १४ अग्ला हिमालसहित १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि वृत्तचित्रका महत्वपूर्ण पात्रका रूपमा रहेका छन् ।
   निर्माण टिमका अनुसार ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर भदौ ६ (२२ अगस्ट २०२६) मा काठमाडौंमा हुनेछ । अन्तर्राष्ट्रिय प्रिमियर भने भदौ २८ (१३ सेप्टेम्बर २०२६) मा हङकङबाट सुरु हुनेछ । त्यसपछि नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलमा वृत्तचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ ।
    दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन् । भुषण दाहालको भ्वाइसओभर रहेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिएको छ ।
   नितान्त नेपाली प्राविधिकको संलग्नतामा कुनै पनि कृत्रिम दृश्य समावेश नगरी समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रा समेटिएको यो नै पहिलो सगरमाथासम्बन्धी वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ ।
   सामाजिक संस्था ‘वी विल राइज फाउन्डेसन’ले निर्माण गरेको“श्र वृत्तचित्रले विश्वभर नेपालको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उद्देश्य राखेको जनाएको छ । सार्वजनिक गरिएको पोस्टर तथा टिजरमा दृश्य सौन्दर्यसँगै भावनात्मक, जोखिमयुक्त यात्रा र अदम्य साहसको झलक प्रस्तुत गरिएको छ । वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।