सोमबार, ३ कार्तिक, २०८३ (1792174500)
शनिबार कार्तिक १, २०८३

जिल्ला अस्पताल फाप्लुमा रेबिजविरुद्धको भ्याक्सिन पर्याप्त

    सोलुखुम्बुः    जिल्ला अस्पताल फाप्लुमा रेबिजविरुद्धको भ्याक्सिन (खोप) पर्याप्त मात्रामा उपलब्ध रहेको छ । जङ्गली तथा घरपालुवा जनावर वा कुकुरको टोकाइबाट घाइते भएका बिरामीहरूका लागि दिइने एन्टी–रेबिज भ्याक्सिन नेपाल सरकारबाट प्रशस्त रूपमा प्राप्त भएकाले अस्पतालमा आउने बिरामीहरूले सो सेवा पूर्ण रूपमा निःशुल्क पाइरहेका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विनेश कुमार मण्डलले जानकारी दिनुभयो । 
   उहाँका अनुसार भ्याक्सिन अभावका कारण कुनै पनि बिरामीले रित्तो हात फर्किनु नपरेको र अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरूको स्वास्थ्य अवस्थामा पनि निरन्तर सुधार आइरहेको छ।  जनावरले टोकेको गम्भीरता र घाउको प्रकृति हेरेर दुई प्रकारको उपचार वा खोप आवश्यक पर्ने गर्दछ। जसमध्ये सामान्य घाउका लागि दिइने एन्टी–रेबिज भ्याक्सिन अस्पतालमा सहजै उपलब्ध छ भने ठूलो घाउ वा गम्भीर चोटका लागि एन्टी–रेबिजका साथै ’ह्युमन रेबिज इम्युनोग्लोबुलिन’ (एच.आर.आइ.जी.) खोप पनि लगाउनुपर्ने हुन्छ। 
   कोशी प्रदेशमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल जस्ता ठूला प्रादेशिक अस्पतालहरूमा मात्र ह्युमन रेबिज इम्युनोग्लोबुलिन उपलब्ध रहेको र अन्य १५ बेडका अस्पतालहरूमा सरकारले यो खोप सिधै उपलब्ध नगराएको उहाँले जानकारी गराउनुभयो।  यद्यपि, फाप्लु अस्पतालमा भर्ना भएका बिरामीहरूलाई ह्युमन रेबिज इम्युनोग्लोबुलिन आवश्यक परेमा बिरामीका आवश्यक कागजातहरू काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा अन्य सङ्घीय अस्पतालमा पठाएर निःशुल्क मगाउने गरिएको छ। बिरामीहरूलाई सकभर बाहिर प्रेषित (रिफर) गर्न नपर्ने गरी यहीँ उपचारको व्यवस्था मिलाइएको डाक्टर मण्डलले बताउनुभयो।  
   सोलुखुम्बुजस्तो हिमाली तथा दुर्गम क्षेत्रमा जङ्गली जनावर र भालुको आक्रमणका घटनाहरू निरन्तर भइरहने भएकाले स्थानीय नागरिकको सहजताका लागि ह्युमन रेबिज इम्युनोग्लोबुलिन खोप पनि जिल्ला अस्पताल फाप्लुमै स्थायी रूपमा उपलब्ध गराउन पहल भइरहेको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका निर्देशक तथा आपूर्ति केन्द्रसँग निरन्तर समन्वय भइरहेको र छिटै सकारात्मक नतिजा आउने डाक्टर मण्डलले जानकारी दिनुभएको छ।