बुधबार, २१ असोज, २०८३ (1791224100)
मंगलबार असोज २०, २०८३

फाप्लु विमानस्थलमा एक महिनामा ४२ उडान, ६४० टन कार्गो स्याङ्बोचे ढुवानी

   सोलुखुम्बुः  सोलुखुम्बुको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको फाप्लु विमानस्थलबाट सेप्टेम्बर महिनामा ४२ वटा उडान सञ्चालन भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण, फाप्लुको तथ्याङ्कअनुसार उक्त अवधिमा २१ वटा आगमन र २१ वटा प्रस्थान उडान भएका हुन्।
   उक्त महिनामा फाप्लु विमानस्थल हुँदै कुल २६६ जना यात्रुले आवतजावत गरेका छन्। जसमध्ये १३८ जना फाप्लुबाट बाहिरिएका छन् भने १२८ जना विमानमार्फत फाप्लु आएका छन्।
   यस्तै, सेप्टेम्बरमा फाप्लुबाट स्याङ्बोचेतर्फ ६४० टन कार्गो सामग्री ढुवानी गरिएको तथ्याङ्कमा उल्लेख छ भने आगमनतर्फ कार्गो ढुवानी शून्य रहेको छ । फाप्लुबाट स्याङ्बोचेमा निर्माण सामग्री, खाद्यान्न तथा अन्य आवश्यक सामग्री ढुवानी हुने गरेको छ।
   सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थल सोलुखुम्बुको हवाई यातायातका लागि महत्वपूर्ण केन्द्र मानिन्छ। विशेषगरी खुम्बु क्षेत्रमा मौसमका कारण लुक्ला विमानस्थलको उडान प्रभावित हुने अवस्थामा फाप्लुलाई वैकल्पिक हवाई गन्तव्यका रूपमा प्रयोग गर्ने गरिएको छ।
   फाप्लुमा अवतरण गर्ने कतिपय पर्यटक तथा यात्रुहरू त्यसपछि सडकमार्ग हुँदै खुम्बु क्षेत्रतर्फ जाने गरेका छन्। फाप्लुबाट सडकमार्ग प्रयोग गरी खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जीपमार्फत पुगेर त्यसपछि आफ्नो गन्तव्यतर्फ जाने व्यवस्था पनि रहेको छ।
   यसरी हवाई तथा स्थल यातायातलाई जोड्ने भएकाले फाप्लु विमानस्थल सोलुखुम्बुको पर्यटन, स्थानीय आवतजावत तथा खुम्बु क्षेत्रमा आवश्यक सामग्री आपूर्तिका लागि महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ। विमानस्थलको नियमित सञ्चालनले जिल्लाको सदरमुकाम तथा खुम्बु क्षेत्रबीचको यातायात सम्पर्कलाई समेत सहज बनाउने गरेको छ।