मंगलबार, २७ असोज, २०८३ (1791742500)
सोमबार असोज २६, २०८३

सगरमाथा सफा राख्न १०–१२ वर्षमा एक पटक आरोहण बन्द गर्नुपर्छः अध्यक्ष लामा काजी शेर्पा

    सोलुखुम्बुः  नेपालको पर्यटन र हिमाली वातावरण संरक्षणमा समर्पित संस्था (सगरमाथा प्रदूषण नियन्त्रण समिति) का नवनिर्वाचित अध्यक्ष लामा काजी शेर्पाले सगरमाथालाई पूर्ण रूपमा सफा राख्नका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँगै निजी क्षेत्रको एकीकृत प्रयास आवश्यक रहेको बताउनुभएको छ। विगत ३० वर्षदेखि सगरमाथा क्षेत्रमा निरन्तर सरसफाइ अभियान सञ्चालन गर्दै आएको समितिले पछिल्ला वर्षहरूमा क्याम्प टुभन्दा माथिल्लो क्षेत्रबाट समेत फोहोरमैला सङ्कलन गर्ने र पर्वतारोहीहरूको मलमूत्र व्यवस्थापन गर्ने कार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उहाँले जानकारी दिनुभयो।
   हालको कानुनी प्रावधान अनुसार समितिको मुख्य कार्यक्षेत्र सगरमाथा आधार शिविर (बेसक्याम्प) र आइसफल क्षेत्रसम्म मात्र सीमित रहेको छ। सगरमाथाको माथिल्लो भाग (क्याम्प टुभन्दा माथि) मा कानुनतः फोहोर सङ्कलन गर्ने अधिकार समितिलाई नभए पनि सरकारले स्वीकृति दिएको खण्डमा ड्रोन जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर भए पनि माथिल्लो क्षेत्रको फोहोर झार्न संस्था तयार रहेको उहाँको भनाइ छ। हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन अत्यन्त खर्चिलो हुने र एक किलो फोहोर झार्न १२ देखि १५ हजार रुपियाँसम्म खर्च हुने भएकाले यसमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
   सगरमाथाबाट सङ्कलित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि ‘क्यारी मी ब्याक’ अभियानको प्रभावकारी कार्यान्वयन भइरहेको छ। आधार शिविरमा सङ्कलित फोहोर नाम्चे बजार पु¥याइन्छ, जहाँ जल्ने फोहोरलाई जलानी गरिन्छ भने नजल्ने फोहोर र प्लास्टिकलाई काठमाडौँ पठाइन्छ। विदेशी पर्यटकहरूकै सहयोगमा वार्षिक ५० देखि ६० हजार किलो फोहोर लुक्लासम्म पु¥याइने र त्यसपछि वायुसेवा कम्पनीहरूसँगको समन्वयमा निःशुल्क रूपमा काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने गरिएको उहाँले स्पष्ट पार्नुभयो।
   विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर सगरमाथा र आसपासका हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। अस्वाभाविक रूपमा हिउँ पग्लिने, सुक्खा क्षेत्रमा अत्यधिक वर्षा हुने, भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरू बढ्दै गएको र साढे चार हजार मिटरको उचाइसम्म पनि बाँदरहरू देखिन थालेको घटनाले हिमाली पारिस्थितिकी प्रणालीमा परेको असरलाई प्रस्ट पार्ने उहाँले उल्लेख गर्नुभयो।
   आफ्नो नयाँ कार्यकालमा आधार शिविरलाई पूर्ण रूपमा सफा (जिरो लेभल) राख्ने प्रमुख लक्ष्य रहेको छ। यसका साथै माथिल्लो क्षेत्रमा दुई वर्षदेखि जम्मा भएको मानव मलमूत्र अनिवार्य रूपमा तल ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागू गर्न सरकारसँग समन्वय गरिने उहाँले बताउनुभयो। आइसफलको बाटो निर्माण र मर्मतबापत प्रतिपर्यटक प्राप्त हुने ६ सय अमेरिकी डलर तथा पर्यटन विभाग र विभिन्न सङ्घसंस्थाहरूको सहयोगबाट सफाइ अभियान सञ्चालन हुँदै आएको छ।
   विश्वको सर्वोच्च शिखर सगरमाथालाई सधैँ स्वच्छ र पवित्र राख्न नियमित सरसफाइका साथै हरेक १० देखि १२ वर्षको अन्तरमा एक पटक सगरमाथा आरोहण पूर्ण रूपमा बन्द गरेर वृहत् सफाइ अभियान सञ्चालन गर्नु उत्तम उपाय हुने सुझाव उहाँले दिनुभएको छ। सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रको संयुक्त सहकार्यबाट मात्र सगरमाथाको स्वच्छता कायम राख्न सकिने धारणा उहाँको छ।