बुधबार, २१ असोज, २०८३ (1791224100)
मंगलबार असोज २०, २०८३

सोलुखुम्बुमा ४ हजार ४७० पशुलाई खोरेतविरुद्धको खोप लगाइयो 

   सोलुखुम्बुः सोलुखुम्बुका आठवटै स्थानीय तहमा आर्थिक वर्ष २०८३÷०८४ को प्रथम चरणअन्तर्गत खोरेत रोगविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन भइरहेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सोलुखुम्बुका पशु सेवा प्राविधिक रामविनोद पण्डितका अनुसार सोमबारसम्म जिल्लाका सात स्थानीय तहमा ४ हजार ४ सय ७० पशुलाई खोरेतविरुद्धको खोप लगाइएको छ।
   गत असोज १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत महाकुलुङ गाउँपालिकामा २०५, सोताङ गाउँपालिकामा ४३५, माप्य दूधकोशी गाउँपालिकामा ८९९, थुलुङ दूधकोशी गाउँपालिकामा १ हजार ७९२, नेचासल्यान गाउँपालिकामा २५१, सोलुदूधकुण्ड नगरपालिकामा ८०४ र लिखुपिके गाउँपालिकामा ८४ पशुलाई खोप लगाइएको केन्द्रले जनाएको छ।
  यसैबीच, जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पनि मगंलवार देखि प्रथम चरणको निःशुल्क खोरेत खोप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सल्लेरीको स्वीकृत कार्यक्रम तथा गाउँपालिकाको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गरिएको पशु सेवा प्राविधिक रामविनोद पण्डितले बताउनुभयो । 
   खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पहिलो चरणमा वडा नम्बर १ र २ का पशुलाई असोज २६ गतेसम्म खोरेतविरुद्धको खोप लगाइनेछ। कम्तीमा चार महिना उमेर पुगेका र निरोगी पशुलाई मात्र खोप लगाइने केन्द्रले जनाएको छ। वडा नम्बर ३, ४ र ५ मा खोप लगाउने मिति तथा तालिका भने पछि सार्वजनिक गरिनेछ।
   पशुधनमा गम्भीर आर्थिक क्षति पु¥याउन सक्ने खोरेत रोगको जोखिम न्यूनीकरण तथा पशु स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको हो। अभियानमार्फत किसानका पशुधनलाई खोरेत रोगबाट सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।