बिहीबार, ११ भदौ, २०८३ (1787681700)
बुधबार भदौ १०, २०८३

  सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित

     सोलुखुम्बुः सोलुखुम्बुका  प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री साउन महिनाको उत्कृष्ट प्रहरी (’पुलिस अफ द मन्थ’) घोषित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले उहाँले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरी घोषणा गरेको हो।
    अस्थायी प्रहरी चौकी रमिते, सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक निरीक्षक खत्रीले कर्तव्यनिष्ठ, व्यावसायिक र लगनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुभएको थियो । साउन २४ गते बिहान सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११, गन्जेडाँडास्थित आफ्नै घरको कोठामा धारिलो हतियारले घाटी रेटिएको अवस्थामा मृत फेला परेका ४६ वर्षीय टोई बहादुर कटुवालको हत्या घटनाको अनुसन्धानमा उहाँले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको थियो। उक्त अनुसन्धानका क्रममा कर्तव्य गरी मारिएको खुलासा गर्दै घटनामा संलग्न ३ जना अभियुक्तहरूलाई पहिचान गरी पक्राउ गर्न र कानुनी दायरामा ल्याउन उहाँ सफल हुनुभएको थियो।
    यसका साथै, सोलुखुम्बुको सदरमुकाम सल्लेरी जोड्ने सिद्धिचरण लोक मार्गअन्तर्गत साल्मे क्षेत्रमा वर्षाका कारण पटक–पटक माटो तथा पहिरो खसेर अवरुद्ध हुने गरेको सडक खुलाउन प्रसनि खत्रीको कमान्डमा प्रहरी टोली खटिएको थियो। उहाँले सडक विभागसँगको सहकार्यमा निरन्तर सडक अवरोध हुन नदिई उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउँदै नेपाल प्रहरीको छवि उच्च बनाउने प्रशंसनीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा प्रहरी नायव उपरीक्षक नविन राजा बुढाथोकीले प्रसनि खत्रीलाई साउन महिनाको ’पुलिस अफ द मन्थ’ घोषणा गर्नुभएको छ।