सोमबार, ८ भदौ, २०८३ (1787422500)
आइतबार भदौ ७, २०८३

 पर्वतीय पर्यटनमा उत्साहजनक पुनरुत्थान, रोजगारी र आम्दानीको दायरा फराकिलो

   सोलुखुम्बुः  विश्वको सर्वोच्च शिखर सगरमाथासहित सयौँ आरोहणयोग्य हिमालहरू रहेको नेपालमा पर्वतीय पर्यटन साहसिक गतिविधिको दायरा नाघेर राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनेको छ । कोभिड–१९ महामारीका कारण शिथिल बनेको यो क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र पुनरुत्थानको बाटोमा फर्किएको छ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा ट्रेकिङ र पर्वतारोहणका लागि नेपाल आउने पर्यटकको संख्या ५.८ गुणाले बढेर एक लाख ६५ हजार ५६ पुगेको छ, जसले कुल विदेशी पर्यटक आगमनमा १४.२ प्रतिशतको महत्त्वपूर्ण हिस्सा ओगटेको छ।
   पर्वतीय पर्यटनको यो पुनरागमनले काठमाडौँका ट्रेकिङ एजेन्सीदेखि हिमाली गाउँका स्थानीय अर्थतन्त्रसम्म व्यापक आर्थिक तरङ्ग ल्याएको छ। सगरमाथाको प्रवेशद्वार सोलुखुम्बु क्षेत्रलाई हेर्दा एक जना आरोही वा पदयात्री नेपाल प्रवेश गरेदेखि स्वदेश नफर्किएसम्म ट्याक्सी चालक, गाइड, भरिया, कुक, होटल व्यवसायी र स्थानीय उत्पादन बिक्रेतासहित दर्जनौँ नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाइरहेका छन्।
   पर्वतारोहणबाट राज्यलाई प्राप्त हुने आर्थिक लाभमध्ये रोयल्टी महत्त्वपूर्ण आधार हो। सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, धौलागिरि र कञ्चनजङ्घा जस्ता सर्वोच्च शिखरहरूबाट सरकारले नियमित रोयल्टी प्राप्त गर्दै आएको छ। सरकारी तथ्याङ्कअनुसार नेपाल पर्वतारोहण संघमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा छ हजार ९०३ विदेशी र १५१ नेपालीसहित कुल सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए। यी हिमालहरूबाट मात्रै १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी संकलन भएको छ।
   यसैगरी, सगरमाथा बाहेक सोलुखुम्बु क्षेत्रका अन्य हिमालहरूले पनि ठूलो आर्थिक सम्भावना देखाएका छन्। ‘नेपाल पर्यटन तथ्याङ्क–२०२५’ अनुसार नेपाल पर्वतारोहण संघमार्फत व्यवस्थापन हुने हिमालमध्ये मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुजेमा एक हजार ७७५ गरी यी तीन हिमालमा मात्रै छ हजार ४८६ आरोहीले अनुमति लिएका थिए।
    पर्यटन विज्ञहरूका अनुसार पर्वतीय पर्यटनको वास्तविक मूल्याङ्कन राज्यले पाउने रोयल्टीमा मात्र सीमित नभई यसले सिर्जना गर्ने बहुआयामिक आय र रोजगारीमा आधारित हुनुपर्छ। सुरक्षित र भरपर्दो पर्वतारोहणका लागि सिटिएभिटीबाट स्वीकृत १ हजार ६९६ घण्टे पाठ्यक्रमअनुसार व्यावसायिक माउन्टेन गाइड तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन थालिएको छ।
   जलवायु परिवर्तनका कारण पग्लिँदा हिमनदी र वातावरणीय चुनौती थपिए तापनि, पर्वतीय पर्यटनलाई सगरमाथामा मात्र सीमित नराखी नयाँ गन्तव्यहरूको प्रवद्र्धन गर्ने हो भने यसले आगामी दिनमा देशको आर्थिक समृद्धिलाई अझ उच्च उचाइमा पुर्याउने निश्चित छ।