शुक्रबार, ५ भदौ, २०८३ (1787249700)
शुक्रबार भदौ ५, २०८३

 साउनमा २ सय ६३ पर्यटक पुगे सगरमाथा क्षेत्र, साढे ४ लाख बढी राजस्व सङ्कलन

   सोलुखुम्बुः पर्यटकीय गन्तव्य सगरमाथा राष्ट्रिय निकुञ्जमा साउन महिनाको अवधिमा कुल २६३ जना पर्यटकहरूले भ्रमण गरेका छन्। निकुञ्ज क्षेत्रमा भ्रमणका लागि पुगेका पर्यटकमध्ये १२८ जना अन्य तेस्रो मुलुकका विदेशी, ३५ जना सार्क राष्ट्रका र १०० जना नेपाली पर्यटक रहेका छन्।
   पर्यटक आगमनसँगै निकुञ्जले प्रवेश शुल्कबापत सङ्कलन गर्ने राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ । तोकिएको प्रवेश शुल्क दरअनुसार तेस्रो मुलुकका विदेशी पर्यटकका लागि प्रतिव्यक्ति ३ हजार रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ र नेपाली नागरिकका लागि प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क निर्धारण गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको  छ।
   उक्त शुल्क दरका आधारमा विदेशी पर्यटकबाट ३ लाख ८४ हजार रुपैयाँ, सार्क राष्ट्रका पर्यटकबाट ५२ हजार ५ सय रुपैयाँ र नेपाली पर्यटकबाट १० हजार रुपैयाँ गरी कुल ४ लाख ४६ हजार ५ सय रुपैयाँ प्रवेश शुल्कबापतको राजस्व सङ्कलन भएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 
    पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । 

    सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।