सोमबार, ८ भदौ, २०८३ (1787422500)
आइतबार भदौ ७, २०८३

पर्यटकीय सिजन सुरु हुन लाग्दा खुम्बु क्षेत्रका पदमार्ग पूर्ण रूपमा सुरक्षितः एसपीसीसी अध्यक्ष लामा काजी शेर्पा

   सोलुखुम्बु — पर्यटकीय सिजन नजिकिँदै गर्दा खुम्बु क्षेत्रमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। अहिले अफ–सिजन भए तापनि दैनिक ८० देखि ९० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा आइरहेका छन्। पर्यटकीय सिजनलाई लक्षित गर्दै स्थानीय तह र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले पदमार्ग मर्मत तथा फोहोर व्यवस्थापनको कामलाई तीव्रता दिएरहेको एसपीसीसीका अध्यक्ष लामा काजी शेपाले जानकारी दिनुभयो ।  
   उहाँका अनुसार वर्षायाममा पहिरो तथा बाढीले क्षति पुरÞ्याएका झोलुङ्गे पुल, पदमार्ग र सूचना बोर्डहरूको मर्मत कार्य खुम्बु पासाङल्हामु गाउँपालिकाले गरिरहेको छ । केही समयअघि टोकटोक क्षेत्रमा पहिरोका कारण पदमार्ग अवरुद्ध भए पनि त्यसको विकल्पमा नयाँ बाटो खोलेर हाल आवगमन सहज बनाइएको छ। एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार अहिले खुम्बु क्षेत्रका पदमार्गहरू पूर्ण रूपमा सुरक्षित र सहज अवस्थामा रहेका छन्।
   हिउँद तथा आगामी वसन्त ऋतुको हिमाल आरोहणका लागि बाटो बनाउने दक्ष प्राविधिक अर्थात आइसफाल डाक्टरहरू मे महिनातिर खुम्बु आइसफालतर्फ प्रस्थान गर्ने छन्। अर्कातर्फ, मनसुन अवधि र अफ–सिजनको समयमा नाम्चे बजार क्षेत्रबाट मात्रै एक महिनामा करिब ८ देखि ९ हजार किलो फोहोर सङ्कलन गरिएको छ। सङ्कलित फोहोरमध्ये जल्ने फोहोरलाई स्थानीय स्तरमै नियन्त्रित रूपमा जलाएर व्यवस्थापन गरिन्छ भने नजल्ने र नकुहिने फोहोरलाई काठमाडौँ पठाउने क्रम जारी छ।
   सरसफाइका लागि एसपीसीसीका १२ देखि १५ जना कर्मचारीहरू नियमित रूपमा खटिएका छन् भने पदमार्गका विभिन्न स्थानमा राखिएका डस्टबिनबाट निरन्तर फोहोर संकलन भइरहेको छ। अफ–सिजनमा यहाँका करिब ८० प्रतिशत स्थानीय बासिन्दा तथा व्यवसायीहरू तीर्थाटनका लागि भारत, श्रीलङ्का वा आफ्नै गाउँघरतिर जाने गरे पनि अहिले पुनः फर्किने क्रम सुरु भएको छ।
   वर्षमा चार महिना काम गरेर वर्षभरिको खर्च धान्नुपर्ने भएकाले गाउँपालिका, एसपीसीसी र स्थानीय व्यवसायीहरू मिलेर सिजन अघि नै सम्पूर्ण तयारी पूरा गरिरहेका छन्। हाल कुनै नयाँ कडा नियम वा मापदण्ड लागू नगरिएको भए पनि आउने पर्यटकहरूका लागि खुम्बु क्षेत्र पूर्ण रूपमा तयार रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ।