काठमाडौँमै गाउँपालिकाको सेवा पाएपछि खुम्बुका स्थानीय खुसी, पहिलो दिनमै १५५ जनाले लिए सेवा
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँमा रहेका गाउँपालिकाबासीका लागि हिजोदेखि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ। गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका सेवाग्राहीलाई लक्षित गरी काठमाडौँको चावहिल क्षेत्रमा शिविर सञ्चालन गरिएको हो।
काठमाडौँमा रहेका गाउँपालिकाबासीलाई स्थानीय तहका विभिन्न सेवा लिन सोलुखुम्बु नै पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर सञ्चालन गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सामाजिक सुरक्षा नवीकरण, व्यक्तिगत घटना दर्ता, भूमि मालपोत कर, व्यवसाय नवीकरण तथा विभिन्न सिफारिसलगायतका सेवा उपलब्ध गराइएको छ।
शिविरमा वडा नम्बर १ देखि ५ सम्मका सेवाग्राहीलाई लक्षित गरी गाउँपालिका तथा वडा तहबाट प्रदान हुने विभिन्न सेवा काठमाडौँमै उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिन एक सय ५५ जनालाई सेवा प्रदान गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा सचिव हेमराज प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा नवीकरणतर्फ मात्रै एक सय आठ जना सेवाग्राहीले सेवा लिएका छन्। त्यस्तै जन्म दर्ता दुई, मृत्यु दर्ता दुई, विवाह दर्ता तीन र बसाइँसराइ दर्ता एक वटा भएको छ।
यसैगरी भूमि मालपोत करसम्बन्धी ३४ वटा सेवा, व्यक्तिगत घटना प्रतिलिपि एक, अंग्रेजी सिफारिस एक तथा व्यवसाय नवीकरण ३ वटा सेवा प्रदान गरिएको गाउँपालिकाको विवरणमा उल्लेख छ। शिविरको पहिलो दिन विभिन्न सेवाबाट ५६ हजार नौ सय रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा बढी राजस्व व्यवसाय नवीकरणबाट ४१ हजार एक सय रुपैयाँ तथा भूमि मालपोत करबाट १४ हजार सात सय रुपैयाँ संकलन भएको छ।
शिविरको उपलब्धि उत्साहजनक रहेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्बा शेर्पाले जानकारी दिनुभयी । उहाँका अनुसार गाउँपालिकाका सेवा काठमाडौँमै उपलब्ध भएपछि सेवाग्राहीलाई समय र खर्चको बचत हुनुका साथै सानो कामका लागि समेत गाउँ फर्किनुपर्ने बाध्यता कम भएको छ। “काठमाडौँमा रहेका गाउँपालिकाबासीले स्थानीय तहबाट पाउने सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। पहिलो दिनको सहभागिता र सेवाप्रवाह हेर्दा शिविर प्रभावकारी देखिएको छ,” वडाध्यक्ष शेर्पाले बताउनुभयो ।
सेवाग्राहीहरूले पनि काठमाडौँमै गाउँपालिकाको सेवा पाउँदा निकै सहज भएको प्रतिक्रिया दिएका छन्। शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आएका एक सेवाग्राहीले यसअघि यस्ता कामका लागि गाउँमै पुग्नुपर्ने भए पनि अहिले काठमाडौँमै सेवा लिन पाउँदा समय र खर्च दुवै बचत भएको बताए। विशेषगरी वृद्धवृद्धा तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकका लागि यस्तो व्यवस्था निकै उपयोगी भएको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ कि जाङमु शेर्पाले गाउँपालिकाले सुरु गरेको एकीकृत सेवा शिविरको प्रशंसा गर्नुभयो ।
गाउँपालिकाले काठमाडौँमा रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा, घटना दर्ता, नागरिकता तथा विभिन्न सिफारिस, व्यवसाय दर्ता तथा नवीकरण र घरजग्गासम्बन्धी सेवासमेत उपलब्ध गराउने व्यवस्था गरेको छ। गाउँपालिकाले काठमाडौँमा रहेका वडा नम्बर १ देखि ५ सम्मका सम्पूर्ण सेवाग्राहीलाई शिविरमा सहभागी भई आफूलाई आवश्यक पर्ने सेवा लिन आग्रह गरेको छ। शिविर भदौ २ गतेदेखि ५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
ताजा खबर
सबै- महेन्द्र बस्नेत नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित
- नेपाली शेर्पाद्वारा नर्वेका पहाडमा आकर्षक ढुङ्गे सिँढी निर्माणः पर्यटन प्रवद्र्धन र आम्दानीको बलियो माध्यम
- मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि सकिँदै
- क्रोएसियामा ज्यान गुमाएका सोताङका गोपाल बस्नेतको शव स्वदेश ल्याउन सांसद प्रकाश सिंह कार्कीको आग्रह
- शिलान्यासको डेढ महिनामै लुक्ला सडकको ट्रयाक खुल्यो , आगामी दशैँसम्म जिप चलाउने लक्ष्य



2026-08-15-07-52-39.jpeg)
2026-08-16-12-16-26.jpeg)
2026-08-16-11-55-56.jpeg)

