सोमबार, १ भदौ, २०८३ (1786817700)
आइतबार श्रावण ३१, २०८३

सोलुखुम्बुमा एक हप्ताको अवधीमा  १९ सवारी साधन कारबाहीमा, २३ हजार राजस्व संकलन

  सोलुखुम्बुः  सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीउधनको रक्षा गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आफ्नो सक्रियता बढाएको छ। यसै क्रममा प्रहरीले एक हप्ताको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने १९ वटा सवारी साधनलाई कारबाही गरी २३ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुल जनाएको छ । कारबाहीमा पर्नेहरूमा नौ वटा जिप तथा कार, सात वटा मोटरसाइकल, दुई वटा टिपरका साथै एक–एक वटा ट्रक र ट्याक्टर रहेका छन्।
   विशेष गरी मोटरसाइकल चालकहरूले बिना हेल्मेट सवारी चलाएको, दुई जनाभन्दा बढी सवार गरेको र मादक पदार्थ सेवन गरी सवारी हाँकेको भेटिएपछि उनीहरूलाई कारबाही गरिएको हो। त्यसैगरी अघिल्लो सिटमा क्षमताभन्दा बढी मानिस राख्ने जिप तथा आवश्यक कागजात साथमा नराख्ने चालकहरू पनि कारबाहीमा परेका छन्।
   क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ट्याक्टर तथा ट्रक र तोकिएको स्थान छाडेर जथाभावी पार्किङ गर्ने सवारी साधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। ट्राफिक नियमको पालना गराउन कडाइ गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुम्बुले दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।