शनिबार, ३० श्रावण, २०८३ (1786731300)
शनिबार श्रावण ३०, २०८३

जलवायु परिवर्तनभन्दा प्रदूषणले हिमालमा बढी असर परेको ३१ पटक सगरमाथा आरोहण गरेका पासाङ दावा शेर्पाको भनाइ

    सोलुखुम्बुः सोलुखुम्बुकै पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पा (पादावा) हालसम्म ३१ पटक सगरमाथाको सफल आरोहण गरेर कामीरिता शेर्पापछिको दोस्रो धेरै आरोहण गर्ने व्यक्तिका रूपमा स्थापित हुनुभएको छ। सगरमाथासहित चोयू, ल्होत्से र मनास्लु गरी आठ हजार मिटरभन्दा अग्ला हिमालमा ४३ पटक पाइला टेकिसक्नुभएका उहाँले १२–१३ वर्षको उमेरदेखि भरियाका रूपमा आफ्नो हिमाली यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि    किचेन ब्वाई र कुक हुँदै माउन्टेन गाइडको भूमिकामा पुग्नुभएका उहाँले सन् १९९८ मा प्रसिद्ध बेलायती एडभेन्चरर एडवार्ड माइकल ‘बियर’ ग्रिल्सलाई गाइड गर्दै पहिलोपटक सगरमाथाको शिखर चुम्नुभएको थियो।
   आफ्नो २८ वर्ष लामो आरोहण अनुभव सेयर गर्दै पासाङ दावा शेर्पाले पहिलेको तुलनामा अहिले सगरमाथा आरोहण साहसिकभन्दा पनि बढी सुविधायुक्त (लक्जरी) बन्दै गएको बताउनुभयो। पहिले बरफमा ढुङ्गाको गाह्रो लगाएर किचेन बनाउनुपर्ने बाध्यता रहेकोमा अहिले आधारशिविरमै कार्पेट ओछ्याइएका आधुनिक पाल र डाइनिङको व्यवस्था हुने गरेको उहाँले उल्लेख गर्नुभयो। विदेशी आरोहीहरूको माग र कम्पनीहरूबीचको प्रतिस्पर्धाका कारण यस्ता सुविधाहरू बढेको उहाँको भनाइ छ।
    प्रविधिको विकाससँगै मौसम पूर्वानुमान भरपर्दो भएकाले हिजोआज आरोहीहरूको व्यवहारमा पनि ठूलो परिवर्तन आएको उहाँले बताउनुभयो। पहिले मौसमको ठूलो जोखिम मोलेर आरोहण गर्नुपर्ने परिस्थिति रहेकोमा अहिले मौसमसम्बन्धी सटीक रिपोर्ट हेरेर काठमाडौँसम्म आएर आराम गर्ने र अनुकूल समयमा मात्र आरोहणका लागि जाने परिपाटी बसेको उहाँले जानकारी दिनुभयो। साथै, आधारशिविरभन्दा माथि नै इन्टरनेट सुविधा उपलब्ध भएकाले उद्धार तथा सञ्चारमा सहजता आएको उहाँले बताउनुभयो।
    पहिलेको तुलनामा अहिले सगरमाथामा फोहोर र अक्सिजन सिलिन्डरहरू धेरै सफा गरिसकिएको उहाँले बताउनुभयो। यद्यपि, जमेको बरफभित्र गढेका पाल तथा फोहोरहरू निकाल्न भने निकै कठिन हुने उहाँको अनुभव छ। हिमालमा हुने जलवायु परिवर्तन र प्रदूषणका विषयमा बोल्दै उहाँले हिमालमा आरोहीहरूले गर्ने गतिविधिभन्दा काठमाडौँ जस्ता सहरी क्षेत्रमा हुने ठूला प्रदूषणजन्य गतिविधिले हिमालमा बढी असर पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो।

    सगरमाथालाई वातावरणीय दृष्टिले केही वर्ष आराम दिनु राम्रो भए पनि वैदेशिक मुद्रा आर्जन, राज्यको राजस्व र पर्यटनमा निर्भर हजारौँ मानिसको रोजगारी जोडिएकाले व्यावहारिक रूपमा आराम दिन कठिन रहेको उहाँले बताउनुभयो। खुम्बु क्षेत्रका पुराना शेर्पाका सन्तानहरू यो पेसामा आउने क्रम घटे पनि मकालु क्षेत्रका शेर्पाहरू तथा राई, गुरुङ लगायत अन्य समुदायका युवाहरूको उपस्थिति भने माउन्टेन गाइडका रूपमा बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो।
   सगरमाथा बाहेक प्राविधिक रूपमा कठिन मानिने आमादब्लम हिमाल ५० पटकभन्दा बढी आरोहण गरिसक्नुभएका शेर्पाले ज्यानले साथ दिएसम्म अझै केही वर्ष आरोहणलाई निरन्तरता दिने इच्छा व्यक्त गर्नुभयो। हिमालमा ज्यानको जोखिम मोलेर काम गर्ने शेर्पा र उनीहरूको परिवारका लागि राज्यले स्थायी रूपमा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्ने मागसमेत उहाँले राख्नुभएको छ।