शनिबार, ३० श्रावण, २०८३ (1786731300)
शनिबार श्रावण ३०, २०८३

 कृषि ज्ञान केन्द्र सोलुद्वारा आयोजित तीन दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न

   सोलुखुम्बु — कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालित जिल्लास्तरीय तीन दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ। हिजो समापन भएको उक्त तालिममा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक तरकारी खेतीमा संलग्न २५ जना कृषक र कृषि संकायमा अध्ययनरत तथा कार्यस्थल तालिम (ओजीटी) मा रहेका ११ जना विद्यार्थी गरी कूल ३६ जनाको सहभागिता रहेको थियो।
    तालिमको सहजीकरण कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवा, महेश शर्मा र सूचना अधिकारी परमेश्वर चामारले गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा सहभागीहरूलाई आधुनिक तरकारी खेती प्रविधि, बेमौसमी तरकारी उत्पादन, टनेल प्रविधि, माटो व्यवस्थापन, बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रणका उपायहरू र उत्पादित वस्तुको बजारीकरणका विषयमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
    जिल्लाका आठवटै पालिकाबाट समानुपातिक प्रतिनिधित्व हुने गरी सम्बन्धित स्थानीय तहका कृषि शाखाहरूको सिफारिसमा सक्रिय कृषकहरूको छनोट गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। व्यावसायिक कृषकहरूसँगै कृषि अध्ययनरत कार्यस्थल तालिमका विद्यार्थीहरूलाई समावेश गर्दा सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवमा ढाल्न मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रमका वक्ताहरूले जिल्लामा तरकारी खेतीको ठूलो सम्भावना रहेको औंल्याउँदै तालिममा सिकेका सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी कृषि उत्पादन र आयआर्जन वृद्धि गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।