शुक्रबार, २९ श्रावण, २०८३ (1786644900)
शुक्रबार श्रावण २९, २०८३

खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा काठमाडौँमा चार दिने एकीकृत सेवा शिविर सञ्चालन हुने

      सोलुखुम्बुः  खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूका लागि एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको साउन १६ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आगामी भदौ २ गतेदेखि भदौ ५ गतेसम्म काठमाडौँको चावहिलस्थित के टावरको अगाडि शिविर आयोजना गर्न लागिएको हो। चार दिनसम्म चल्ने उक्त शिविर दैनिक बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सञ्चालन गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३÷८४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ को नियम (९) बमोजिम २०८३ असोज मसान्तसम्ममा जैविक पहिचान (बायोमेट्रिक) गरी नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थालाई सहज बनाउन र नागरिकको घरदैलोमै प्रशासनिक सेवा पु¥याउने उद्देश्यका साथ खुम्बु पासाङल्हामु गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा विभिन्न सिलसिलामा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गरी यो शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख मञ्जु श्री शर्मा निरौलाले जानकारी दिनुभयो । 
   शिविरबाट मुख्य रूपमा राष्ट्रिय परिचयपत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता दर्ता र नवीकरणको सेवा प्रदान गरिनेछ। राष्ट्रिय परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्तिले नेपाली नागरिकताको प्रमाण–पत्रको सक्कल प्रति र आवेदन फारामको प्रति लिएर आउनुपर्नेछ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका लागि नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर ( र बैंक खाताको विवरण वा पासबुकको प्रतिलिपि अनिवार्य गरिएको छ। बालबालिकाको हकमा जन्मदर्ता प्रमाण–पत्र तथा आमा वा बाबुको नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ।
    विधवा तथा एकल महिलाहरूका लागि भने पतिको मृत्यु दर्ता प्रमाण–पत्र, पुनः विवाह नगरेको स्व–घोषणा वा सिफारिस पत्र र सम्बन्ध विच्छेद भएको भए सो सम्बन्धी कागजात पेस गर्नुपर्नेछ। साथै पूर्ण अपाङ्गता भएका, अशक्त वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा स्याहारसुसार गर्ने संरक्षक वा इच्छाइएको व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्र समेत आवश्यक पर्ने जानकारी दिइएको छ।

   सामाजिक सुरक्षा र राष्ट्रिय परिचयपत्र बाहेक शिविरमा गाउँपालिकाअन्तर्गतका विभिन्न वडा कार्यालयबाट सम्पादन हुने प्रशासनिक सेवाहरू समेत उपलब्ध गराइनेछ। जसअन्तर्गत जन्म, मृत्यु, विवाह, बसाइसराइ तथा सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकताको सक्कल, अस्पतालको जन्म प्रमाण–पत्र वा खोप कार्ड, दम्पतीको नागरिकताको सक्कल, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र अदालतको फैसलाको प्रति (सम्बन्धविच्छेदको हकमा) पेस गरी सेवा लिन सकिनेछ।
    त्यस्तै नयाँ नागरिकता वा नागरिकताको प्रतिलिपि सिफारिसका लागि जन्मदर्ता, आमाबाबुको नागरिकता, दुवै कान प्रस्ट देखिने पासपोर्ट साइजको फोटो (२ देखि ५ प्रति) तथा विवाहित महिलाको हकमा विवाह दर्ता र माइती पक्षको नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ। व्यवसाय दर्ता, नवीकरण वा खारेजीतर्फ व्यवसाय दर्ता प्रमाण–पत्र, गत आर्थिक वर्षको कर चुक्ता प्रमाण–पत्र, भाडा सम्झौता र बहाल कर तिरेको रसिदका साथै चालु आर्थिक वर्षसम्मको मालपोत तथा घरजग्गा कर तिरेको रसिद बुझाउनुपर्नेछ। घरजग्गाको मालपोत तथा सम्पत्ति कर भुक्तानीका लागि नागरिकताको प्रतिलिपि, धनीपूर्जा र अघिल्लो वर्षको सम्पत्ति कर तिरेको रसिद पेस गर्नुपर्नेछ।
   गाउँपालिकाका प्रशासन शाखा प्रमुख निरौलाका अनुसार प्रचलित कानुन अनुसार अन्य आवश्यक कागजातहरू सोही अनुसार पेस गर्नुपर्नेछ। काठमाडौँमा रहेका सम्पूर्ण खुम्बु पासाङल्हामुवासीहरूलाई आवश्यक कागजातसहित उपस्थित भई शिविरबाट सहज रूपमा सेवा लिन गाउँपालिकाले हार्दिक अनुरोध गरेको छ।